काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले निस्शुल्क भिसा, निस्शुल्क टिकट ‘लागू’ गरेको भए पनि उनले १ लाख ३० हजार रुपैयाँ खर्च गरिन् र पुस ३ गते यूएई उडिन् ।
दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम पाएकी स्नेहा स्कुल सरसफाइमा जान्थिन् । काम सुरु गरेको एक महिना बित्दा चीनको वुहानमा कोभिड–१९ संक्रमणको पुष्टि भईवरी तीव्र गतिमा अन्य देशमा फैलिन थालिहाल्यो । संक्रमणको जोखिमले दुबईका स्कुल बन्द हुन थाले । स्नेहा माघ २६ देखि कामविहीन भइन् । चैत २४ गते उनलाई कम्पनीले ५ सय दिराम थमाइदियो । त्यो पैसा कामको पारिश्रमिक हो कि कम्पनीले संकटमा काम चलाउन दिएको हो, उनले मेसो पाएकी छैनन् । तर उनले त्यही पैसाले केही दिन छाक टार्न पुग्यो । यति बेला उनलाई विदेश आउँदा लागेको ऋण कसरी तिर्ने, घर खर्च कसरी पठाउनेभन्दा पनि दुई छाक कसरी पुर्याउने भन्ने चिन्ताले पिरोलेको छ ।
कम्पनीले दिएको घरमा उनी अन्य १ सय २० नेपाली महिलासँगै बसेकी स्नेहाले भनिन्, ‘अर्को महिनादेखि तलब आउँदैन भन्ने मौखिक जानकारी आएको छ ।’यतिबेला उनीसहितका नेपाली गैरआवासीय नेपाली संघले दिएको राहतबाट केही दिनको गर्जो टारिरहेका छन् । ‘काम कहिले सुरु हुन्छ भन्ने पनि थाहा छैन । कम्पनीले राहत दिन्छ कि दिँदैन भन्ने पनि थाहा छैन,’ उनले भनिन् ।
सन्निकट दिनको संकट र के गर्ने भन्ने छटपटी र अलमल पर्नेमा स्नेहा एक्ली कामदार होइनन् । शुक्रबारसम्म यूएईमा मात्रै ५ हजार ८ सय २५ लाई कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ जसमा १२ नेपाली पनि छन् । संक्रमणकै कारण एक नेपालीले ज्यान गुमाएका छन् । यी सबै खबरबारे जानकार स्नेहालाई १४ जना एउटै कोठामा गुम्सिएर बस्दाको छटपटी र हरेक दिन खाना खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ । नेपालको दोस्रो ठूलो श्रम गन्तव्य यूएईमा २ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । जुन वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको २६.५ प्रतिशत हो ।
कोभिड–१९ संक्रमणको असर खाडीको श्रम बजारमा कस्तो पर्छ भन्नेबारे गत मंगलबार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा खाडीमा ५० लाख कामदारको पूर्ण रोजगारी गुम्ने आकलन गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘सन् २००८/९ मा देखिएको विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी असर कोभिड–१९ संक्रमणबाट पर्ने देखिन्छ । संक्रमण नियन्त्रण गर्न चालिएको कदमबाट सबैभन्दा बढी खाना सेवा गर्ने रेस्टुरेन्ट, होटल, उत्पादन, रिटेलसँग सम्बन्धित व्यापार र प्रशासनिक गतिविधि जोखिममा पर्नेछन् ।’
आईएलओले भनेजस्तै खाडीको मुख्य श्रम बजार मानिएको यूएईमा संक्रमणको असर देखिन थालिसकेको छ । यूएईको मानव संसाधन मन्त्रालयले निजी क्षेत्रका कम्पनी र कामदारका लागि हालै मात्र नयाँ नीति जारी गरेको छ । जसमा ३० प्रतिशतभन्दा बढीलाई कार्यालयमा काम लगाउन नपाइने, कामदारलाई तलबमा राख्न वा बेतलबी बिदामा राख्न पाइने र आर्थिक अवस्था हेरी स्थायी रूपमा लागू हुने गरी तलब कटौती गर्न पाइने उल्लेख छ । खर्च कटौतीको उपाय भन्दै कम्पनीहरूले पछिल्लो सरकारी नीति कार्यान्वयन गर्न थालिसकेका छन् । जसको प्रत्यक्ष असर त्यहाँ रहेका २ लाखभन्दा धेरै कामदारमा पर्न थालिसकेको छ । कान्तिपुरसँग सम्पर्कमा आएका केही कामदारले निर्माण क्षेत्रको क्याम्पमा काम जारी भए पनि संक्रमणको जोखिम रहेको र सरसफाइ र कारखानाका काम क्रमशस् बन्द हुँदै गएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।