४ असार २०८३, बिहीबार
,
Latest
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७ औँ जन्मजयन्तीको अवसर पारेर मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

नगद रु एक लाख राशिको उक्त पुरस्कार वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीले प्राध्यापक कँडेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा त्रिपाठीले राष्ट्रकवि घिमिरेको हरेक कवितामा राष्ट्रिय भाव झल्किएको बताउनुभयो । गद्य कवितालाई गीतमा ढाल्ने कवि घिमिरे भएको उहाँको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले राष्ट्रकवि घिमिरे आफ्नो काव्य गुरु भएको बताउनुभयो । उहाँले राष्ट्रकवि घिमिरेको हरेक कवितामा प्राकृतिक वस्तु समेटिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व राष्ट्रकवि घिमिरे भएको बताउनुभयो । पुरस्कार छनोट समितिका सदस्य प्रा डा लेखप्रसाद निरौलाले निराशालाई आशामा बदल्नका लागि प्रेरणा दिने कवि राष्ट्रकवि घिमिरे भएको बताउनुभयो ।

राष्ट्रकवि घिमिरेको बारेमा हालसम्म एक दर्जनभन्दा बढी व्यक्तिले विद्यावारिधी गरेको उहाँको भनाइ थियो । राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकवि घिमिरेको साहित्यिक यात्रालाई नयाँ पुस्तामा लैजान आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले राष्ट्रकविको साहित्यिक योगदानलाई आजीवन राख्नका लागि मस्र्याङ्दी प्रतिष्ठान लागिरहेको उल्लेख गर्नुभयो । राष्ट्रकवि घिमिरे प्रतिष्ठानको प्रमुख संरक्षक हुनुहुन्थ्यो ।

पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्राडा लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारको तर्फबाट प्रा डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

धादिङ स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्नुहुन्छ । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे र उहाँका परिवारबाट दिएको रकममा प्रतिष्ठानबाट समेत केही रकम थप गरी रु २७ लाखको अक्षयकोष बनाएर उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट गत तीन वर्षदेखि उक्त पुरस्कार प्रदान गरिँदै आइएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो ।

उक्त पुरस्कारबाट यसअघि वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी र वरिष्ठ गीतकार किरण खरेल सम्मानित भइसक्नुभएको थियो ।रासस