१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन हो भन्ने तथ्य कहिल्यै बुझाउन सकिएन



अ+ अ-

नेपालको समग्र अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ । त्यस्तै मुलुकमा उपलब्ध रोजगारीमा ८६ प्रतिशत योगदान रहेको छ । यो कुनै अनुमान नभएर अनुसन्धानबाट प्राप्त प्रामाणिक तथ्य हो ।

यसबाट प्रष्ट हुन्छ कि मुलुकमा राजस्वको योगदानमा निजी क्षेत्रको हिस्सा अथवा अवस्था । त्यसैले हामीले भन्ने गरेका हौँ कि मुलुकको अर्थतन्त्रको प्रमुख इञ्जिन नै हो ।

यो वास्तविकता नेपालको मात्र होइन, विश्वकै हो । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुमा निजी क्षेत्रलाई राज्यले के सहुलियत दिएको छ, कस्तो प्राथमिकता दिन्छ भन्न तथ्य हामीलाई भन्दा यहाँलाई नै बढी थाहा छ ।

तर, दु:खको कुरा यो तथ्य हामीले राज्यलाई बुझाउन कहिल्यै सकेनौँ । निजी क्षेत्र देशको राजस्वको प्रमुख स्रोत हो, मुलुकको अर्थतन्त्रको मात्र नभएर मुलुक सञ्चालनकै प्रमुख इञ्जिन हो भन्ने कुरा राज्यले नीति नियममा स्वीकार गरेपनि व्यवहारमा कहिल्यै स्वीकार गरेन । र हामीले बुझाउन पनि सकेनौँ ।

निजी क्षेत्र र त्यसका प्रतिनिधिहरुलाई राज्यलले, सरकारले, आमनागरिकले जुन स्थान र सम्मान दिनुपर्दथ्यो, त्यो हुन सकेको छैन । तर हामीले सम्मान पाएनौँ भन्ने कुनै व्यक्तिगत दुखेसोे भने यो कदापि होइन । त्यस रुपमा हामी अपेक्षा पनि गर्दनौँ र सम्माननीय प्रधानमन्त्रीज्यूले पनि नलिइदिनुहोला ।

तर पनि यहाँ मुलुकका समग्र निजी क्षेत्रको नेतृत्वका तर्फबाट मैले प्रस्तुत गर्न खोजेको आम भावना यो हो कि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । ठूलो लगानी गर्दा पनि यत्रो पैसा कहाँबाट आयो रु कसरी कमायो रु भन्ने जस्तो सोच समाजमा छ । जति ठूलो लगानी भयो त्यति देशको समृद्धि बढ्ने हो भन्ने सोच समाजमा आझै आएन ।

सायद, हामीलाई लाग्छ त्यसैको परिणाम हरेक आन्दोलनमा निजी क्षेत्रका व्यक्तिगत संरचना तथा उद्योग प्रतिष्ठन हुने गरेका छन् । यस पटकको पछिल्लो आक्रमण पनि त्यसैको उपज हो भन्ने हाम्रो निष्कर्ष छ ।

मुलुकको युवा बर्गले अबका दिनमा यो वास्तविकता बुझ्न सक्ने वातावरणको निर्माण गर्न हामी नेपाल सरकारसँग हार्दिक अपिल गर्दछौँ । मुलुकको समृद्धिको साँचो नै निजी क्षेत्रको हातमा छ भन्ने तथ्य युवा बर्गले बुझ्नु जरुरी छ ।

यतिखेर समग्र मुलुकजस्तै हामी पनि मर्माहत भएका छौँ । हाम्रा व्यक्तिगत सम्पत्ति, साझा पर्यटन लगायतका पूर्वाधार एवं उद्योग प्रतिष्ठानहरुमा आक्रमण भएको छ । काठमाडौँ र अन्य जिल्लामा पनि यस्तो अवस्था छ ।

तर पनि हामले मुटुमाथि ढुंगा राखी हास्नु परेको छ भनेजस्तै हामीले पुन: उठ्छौँ भन्नु परिरहेको छ, खरानी टकटकाएरै उठ्छौँ भनिरहेका छौँ । हामीले यसो नगर्दा मुलुकको समग्र निजी क्षेत्रको आत्मबल उठ्न सक्दैन । अनि वास्तविकता नै के हो भने हामी नउठी मुलुकको अर्थतन्त्र पनि उठ्न सक्दैन ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले जे जति संरचनाहरु ध्वस्त भएका छन् तिनको पुन: निर्माणका लागि निजी क्षेत्रको साथ, सहयोग र सहकार्य आवश्यक छ भन्ने कुरा त यहाँलाई अवगत नै छ ।

त्यसैले यसका लागि र निजी क्षेत्रलाई आवश्यक सहयोगका लागि हामी सरकारको सहयोगको अपेक्षा गरेका छौँ । संकटको बेला सरकारसँग हर प्रकारको सहयोगका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न हामी तम्तयार छौँ ।

हामीलाई गएका केही बर्षयता मात्र पटक पटक ठूलो धक्का मिलेको छ । १० बर्ष अघिको भूकम्पले हामीलाई एक प्रकारले भन्दा थला पारेको थियो । मन दह्रो बनायौँ, संघर्ष गर्यौँ र बल्लतल्ल उठ्यौँ ।

त्यसपछि कोभिड महामारीमा पनि सबैभन्दा ठूलो मर्कामा हामी नै थियौँ । एकातर्फ ज्यान जोगाउनुपर्ने अवस्था थियो भने अर्कातर्फ हाम्रा उद्योग धन्दाका सटर बन्द हुनबाट जोगाउनुपर्ने थियो । त्यस्तो बेलामा पनि हामी तंग्रियौँ, उठ्यौँ ।

त्यसको केही समयपछि नै हामीलाई रुस युक्रेन युद्धको बाछिटाले नराम्रोसँग हान्यो । कोभिड होस् या युक्रेन युद्ध । त्यसमा हामी चाहिने भन्दा बढी नै सावधान पनि भयौँ । देशको अर्थतन्त्र संकटमै पुग्यो । फेरि जेनतेन बामे सर्दै उठ्यौँ । नेपाली व्यवसायीले सटर बन्द गर्ने र विदेश तथा अन्यत्र काममा पलायन हुनबाटा जोगाउने सक्दो प्रयत्न गर्यौँ ।

मुलुकको अर्थतन्त्रले पुरानो लयमा फर्कने अधिकतम प्रयासमा थियो । अर्थतन्त्रका केही सूचक सकारात्मक पनि हुदै गएका थिए । पर्यटक आगमन बढेको थियो, साना मझ्यौला उद्योग, व्यवसायहरुले राम्रै आर्थिक कारोबारको आँकडा निकालिरहेका थिए ।

तर अहिले यस्तो बेलामा मुलुकमा आगजनी भयो कि यो पर्यटक आगमनको सिजन हो । यस्तो अवस्थामा होटलमा, पर्यटकीय पूर्वाधारहरुमा आगजनी र आक्रमण भएबाट विश्वभर गएको सन्देशले पक्कै पनि पर्यटक आगमनमा क्षति पुगेको छ ।

नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत पनि निजी क्षेत्र रहेको हुँदा वर्तमान सरकार र युवा पुस्ताको चाहना बमोजिम निष्पक्ष निर्वाचन र समुन्नत नेपाल निर्माणका लागि उद्यमी व्यवसायका निम्न सुझाव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछु ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ ।

अहिले हामी स्वदेशी व्यवसायीहरुको आत्मबललाई माथि उठाइ वैदेशिक लगानीको सुनिश्चिता गर्नु प्रमुख चुनौती छन् । यस्तो अवस्थामा विदेशी लगानी कसरी भित्र्याउने भनी सरकारले निर्माण गर्ने हरेक रणनीतिमा हामी साथमै छौँ । लगानीको वातावरण अब थप बिग्रन नदिन सरकारले विशेष कदम चालोस् भनी आग्रह गर्दछौँ ।

यस्तो अवस्थामा हामीले भन्दै आएजस्तै अब खरानी टकटकाएरै उठ्नुपर्ने अवस्था छ । त्यसैले सरकार र निजी क्षेत्रको हातेमालो आवश्यक छ । हामीसँग पुनर्संरचना र पुन: निर्माणको विकल्प छैन । त्यसैले सहकार्य र सहयोगका साथ नै अघि बढ्नुपर्ने छ । हर प्रकारको सहयोग र सहकार्यका लागि निजी क्षेत्र सक्षम छ, तम्तयार छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष निजी क्षेत्रका तर्फबाट नेपालको पछिल्लो अवस्थाका बारेमा आज राख्नुभएको धारणाको सम्पादित अंश ।)