२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उहाँले अहिले उक्त पेसाको विकल्प खोज्न थाल्नुभएको छ । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउनुहुन्छ ।

“मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भन्नुभयो, “अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

“केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भन्नुभयो, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उहाँले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठूलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताउनुभयो ।

छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उहाँको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउनुहुन्छ । “जतिबेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भन्नुभयो, “अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”

दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन”, बादीले भन्नुभयो, “भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।”

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उहाँले सिजनमा भने मादल बनाउने गरेको बताउनुभयो । “अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भन्नुभयो, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ । रासस