१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी



An Israeli armored vehicle moves along the Israeli-Gaza border as seen from southern Israel, Tuesday, Sept. 16, 2025. (AP Photo/Leo Correa)
अ+ अ-

एजेन्सी । एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।

यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गर्नुभएको हो । यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भन्नुभएको थियो ।

अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।

बन्धक परिवारको विरोध 

गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे ।

“मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भन्नुभयो ।

इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनी मारिएका छन् । मृतकमध्ये महिला र बालबालिका लगभग आधा रहेको बताइएको छ ।

इजिप्टको कडा चेतावनी 

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सोमबार कतार शिखर सम्मेलनमा इजरायललाई पहिलो पटक ‘शत्रु’ भन्दै सम्बोधन गर्नुभयो । सन् १९७९ को शान्ति सम्झौता पछि पहिलोपटक इजिप्टका नेताबाट यस्तो टिप्पणी आएको हो ।

इजिप्ट सरकारका सूचना प्रमुख दिया रस्वानले ‘इजिप्ट खतरामा परेको छ’ भन्दै इजरायलप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

अमेरिकी चिन्ता 

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमण सकेर कतार पुग्नुभएको छ । उहाँले गाजा अपरेसनलाई सङ्केत गर्दै ‘हामीसँग सम्झौताका लागि अब महिनौँ होइन, दिन वा हप्तामात्र बाँकी छ’ भन्नुभयो ।

रुबियोले युद्ध दीर्घकालीन बन्न नहुने भन्दै ‘हमासलाई अव्यवस्थित पार्न वार्तामार्फत समाधान होस्’ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

अपरेसन र क्षति 

इजरायली सेनाले हप्तौँदेखि दिएको चेतावनीपछि काट्जले अपरेसन सुरु भएको पुष्टि गर्नुभयो । “आतङ्कवादी पूर्वाधारमा फलामको मुठ्ठीले प्रहार भइरहेको छ । हामी मिशन पूरा नभएसम्म न त हार मान्छौँ न फर्किन्छौँ”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिनामा मात्र दुई लाख २० हजारभन्दा बढी प्यालेस्टिनी गाजाको उत्तरी भागबाट विस्थापित भएका छन् । अपरेसन अघि त्यहाँ करिब १० लाख बासिन्दा बसोबास गरेका थिए ।

मङ्गलबार बिहान गाजामा तीव्र आक्रमण भइरहेका समाचार आएका छन् । सहरको शिफा अस्पतालले कम्तीमा २० शव र ९० घाइतेको विवरण दिएको छ ।

“गाजामा निकै कठिन रात बित्यो, बम विस्फोट क्षणभर पनि रोकिएन”, अस्पताल निर्देशक डा मोहम्मद अबु सेलमियाहले भन्नुभयो ।

इजरायली सेनाले आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विगतमा हमासले नागरिक क्षेत्रमा पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।