काठमाडौँ । भारतले एसिया कपको छैटौँ खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको छ ।
भारतले १२८ रनको लक्ष्य १६औँ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
जितपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । यसअघि टसपछि पनि कप्तान सूर्यकुमार यादवले पाकिस्तानका कप्तान सलमान अली आगासँग हात मिलाएका थिएनन् । पहलगाम आतङ्कवादी आक्रमण र त्यसपछि भएको ‘अपरेशन सिन्धूर’ पछिको यो भारत–पाकिस्तान क्रिकेट खेल हो ।
ग्रुप ‘ए’ को यस खेलमा भारतीय बलरहरूले पावरप्लेबाटै दबाब सिर्जना गरे र अन्तिमसम्म पाकिस्तानी ब्याटरहरूलाई सम्हालिन अवसर दिएनन् । साहिबजादा फरहान (४० रन) र शाहिन अफ्रिदी (३३ रन) बाहेक अरू कुनै ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेन ।
कुलदीप यादवले ३ विकेट लिए भने जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट हात पारे । एक–एक विकेट हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले पाए ।
भारतीय टोलीतर्फ ओपनर अभिषेक शर्मा र तिलक वर्माले ३१–३१ रनको इनिङ खेले । कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए । सूर्य र तिलकबीच तेस्रो विकेटका लागि ५६ रनको महत्त्वपूर्ण साझेदारी भयो । पाकिस्तानका सईम अयूबले तीनै विकेट लिए ।
यस जितसँगै भारत अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ भने सुपर–४ मा पुग्ने सम्भावना बढाएको छ । अर्कोतर्फ पाकिस्तानलाई भने अर्को चरणमा प्रवेश गर्न यूएईविरुद्धको अन्तिम खेल जित्नैपर्ने भएको छ ।










