१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार कैदीबन्दीलाई कारागारमा उपस्थित हुन निर्देशन



अ+ अ-

सुदूरपश्चिम। यही भदौ २४ गतेको प्रदर्शनका क्रममा कैलाली कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल कारागारमा उपस्थित हुन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

फरार भइरहने अवस्थाको निरन्तरता भएमा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिनुका साथै भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत असर पर्नसक्नेतर्फ स्मरण गराउँदै कार्यालयले आज एक सूचना जारी गरी कारागार र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

सूचनामा कैदीबन्दीले आत्मसमर्पण गरी सार्वजनिक सम्पत्ति संरक्षण, समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिएको छ ।

प्रदर्शनका क्रममा कारागारबाट ६६० कैदीबन्दी फरार भएकामा आजसम्म १२ महिलासहित ९२ जना फर्किएका कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आजै अर्को सूचना जारी गर्दै यही भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएपश्चात् चोरी र लुटपाट गरिएका सरकारी जिन्सी र बहुमूल्य समान बिक्री गर्नुका साथै घरमा लुकाइछिपाई राखिएको हुनसक्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेकाले त्यस्ता समान बिक्री नगर्न÷नगराउन, सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

त्यस्ता समान नबुझाई कसैले आफैँसँग राखेमा वा खरिद–बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने कार्यालयले सचेत गराएको छ । रासस