२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीका असन्तुष्ट नेता नवगठित पार्टीमै सीमित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरू अन्य दल नखोल्ने भएका छन् । उनीहरूसमेत एकीकृत पार्टीमै महत्त्वपूर्ण जिम्मेवारीका साथ काम पाउने जनता समाजवादी पार्टी स्रोतको दाबी छ । राजपाबाट राजकिशोर यादव, अनिल झाका साथै समाजवादीबाट रेणु यादव, इस्तियाक राइन, प्रदीप यादवलगायत नेताहरू आफ्ना तत्कालीन पार्टी नेतृत्वबाट असन्तुष्ट छन् । उनीहरूले छुट्टै दल गठन गर्ने तयारी पनि हाललाई स्थगित गरेको स्रोतको दाबी छ ।

रेणुले छुट्टै दल गठन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेकी थिइन् । समाजवादी पार्टीका १७ मध्ये आठ सांसद लिएर छुट्टै दल गठन गर्ने र एक मन्त्री, एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने योजना थियो । तर, रेणुको योजना डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर असफल बनाएपछि सबै असन्तुष्ट नेता एकीकृत जनता समाजवादीमै फर्किने तयारी भएको हो ।

उता, समाजवादीसँग एकीकरण गर्न नहुने भन्दै पहिलेदेखि नै आपत्ति जनाउँदै आएका राजपाका राजकिशोर र अनिलसमेत जनता समाजवादीमै महत्त्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । राजपा अध्यक्ष मण्डलको सदस्यसमेत रहेका राजकिशोर र अनिलले एकीकरण घोषणामा सहभागी नहुनुका साथै सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छैनन् । यी दुवै नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिँदै एकीकृत पार्टीमै राख्ने र उनीहरू समेत सहमत भइसकेको स्रोतको दाबी छ । राजधानी दैनिक