१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशीला कार्कीलाई आलोचनात्मक समर्थन : मोहन श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई आलोचनात्मक समर्थन गरेका छन् । उनले बलिदानीपूर्ण संघर्षका लागि जेन जी पुस्ताप्रति नमन व्यक्त गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमा पछिल्लो राजनीतिक गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै दलीय स्वार्थविरुद्ध जेन जी पुस्ताको संघर्ष अझै बाँकी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

सरकार, संसद र संविधानको उपादेयता समाप्त भएको, सरकार आफै हेलिकप्टर चढेर भाग्न बाध्य भएको, संसद बिघटन भएको र लगभग कोमामा रहेको संविधानको धारामा टेकेर देशको बागडोर सम्हाल्न आइपुग्नु भएकी प्रधानमन्त्री पदमा नियुक्त श्रीमती सुशीला कार्कीलाई आलोचनात्मक समर्थन सहित हार्दिक बधाई । परिवर्तनका लागि बलिदानीपूर्ण संघर्षका लागि जेन जेड पुस्तालाई नमन ।

नरसंहार र त्रासदीपूर्ण वातावरणबाट सिर्जित तरल अवस्थामा रहेको देशलाई एउटा ट्रयाकमा लैजान नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय छ। समाजका सबै पक्षहरुका अपेक्षा थिए र छन् । देशको दीर्घकालीन भविष्यका लागि हिम्मतका साथ लिनुपर्ने निर्णयहरु पनि थिए, ति अधुरै छन्। सधैं दलीय र निजी स्वार्थका लागि लड्यौं, देशका लागि जेन जेड समेत हरेक पुस्ताको साझा संघर्ष अझै बॅाकी छ।

घरेलु शक्तिहरुका बीच नवीन समझदारी नगर्दासम्म देशको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता र सुन्दर भविष्यमाथि आशंकाका कालो बादल मडारिरहनेछ । एक हप्ता यता मात्रै पनि अनुभूत गरिएका र देखिएका परिदृश्यहरु छुट्टाछुट्टै हेर्दा त केही नदेखिएला, तर त्यसलाई एक ठाऊॅमा जोडेर हेर्दा देखिने आकृति भयानक र डरलाग्दा छन् ।

प्रजातन्त्र र अधिकारका लागि लामो संघर्ष गरेर आएका तर देश, जनता र देशको सुदुर भविष्यका लागि गलत नीति र गलत मार्गचित्र अबलम्बन गरेका दल र ति दलका नेताको अकर्मण्यताका कारण आजको परिस्थिति सिर्जना भएको हो । आफ्ना आफ्ना वाद, विचार, सिद्धान्त र स्वार्थलाई देश हितमा सदुपयोग गर्दै राष्ट्रिय एकता सहितको नवीन समझदारी गर्ने हो भने अझैपनि सम्हाल्न सकिन्छ। विदेशीकै स्वार्थ र आवश्यकता अनुसार विदेशीकै एजेण्डा बोक्ने र विदेशीकै गोटी बनिरहने हो भने त आगामी दिनहरु झनै कष्टकर देखिन्छन् ! सबैले सोचौं, जिम्मेवार बनौं, गम्भीर बनौं।

कवि भूपी शेरचनको कविताबाट :

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने

कसैले मिलाइदिनुपर्ने,

हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने

कसैले छुट्टयाइदिनुपर्ने,

हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने

कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने

हामी रङ्ग–रोगन छुटेका,

टुटेका, फुटेका

पुरानो क्यारमबोर्डका गोटी हौं

एउटा मनोरन्जक खेलका सामग्री,

एउटा खेलाडीमाथि आश्रित,

आफ्नो गति हराएका

एउटा ‘स्ट्राइकर’ द्वारा संचालित

हो, हामी मानिस कम र बर्ता गोटी हौं ।