काठमाडौं । जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण सरकार ढलेपछि प्रधानमन्त्री, मन्त्रीसहित राजनीतिक दलका नेताहरु कहाँ छन् भन्ने अझै प्रष्ट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीमा आफू रहेको भन्दै हिजो विज्ञप्ति जारी गर्नुभएको छ । शिवपुरी सेनाको ब्यारेक हो । तर अरु नेता कहाँ छन् यकीन छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँकी पत्नी आरजु राणालाई प्रदर्शनकारीले नियन्त्रणमा लिएका थिए । उहाँहरुको दुवै जनाको टाउकोमा चोट लागेको छ । काठमाडौंकै कुनै अस्पतालमा उपचार गराइरहनुभएका उहाँहरुको अवस्था गम्भीर रहेको बताइएको छ । सेनाले उद्धार गरेर अस्पताल पुर्याएको भनिए पनि उहाँहरुलाई कुन अस्पतालमा उपचार गराइएको छ भन्ने खुलाइएको छैन ।
जेन–जी पुस्ताले आन्दोलन गरेकै दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहाँ हुनुहुन्छ भन्ने अत्तोपत्तो छैन । उहाँको निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् ।
मन्त्रीहरु कहाँ छन् भन्ने यकिन छैन । प्राय: सबै मन्त्रीको घरमा प्रदर्शनकारीले आक्रमण गरि जलाइदिइसकेका छन् । केही मन्त्रीहरुलाई मन्त्रि क्वार्टरबाटै सेनाले हेलिकोप्टरमा राखेर लगेको भिडियो सार्वजनिक भएको छ । तर उनीहरुलाई कहाँ लगिएको छ र राखिएको छ भन्ने यकीन छैन ।
प्रधानमन्त्रीसहितका मन्त्री तथा केही नेताहरुलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको छ । तर उहाँहरुलाई संरक्षण दिएर राखिएको हो या नियन्त्रणमा लिइएको हो भन्ने प्रष्ट छैन । यस विषयमा न प्रधानमन्त्री ओलीले केही सार्वजनिक गर्नुभएको छ न त मन्त्री वा राजनीतिक दलका नेताहरुले नै केही भनेका छन् ।
धेरैजसो नेताहरु उपत्यकास्थित नेपाली सेनाका विभिन्न ब्यारेकमा राखिएका छन् ।
कांग्रेस र एमालेका केही नेताहरुले सामाजिक सञ्जालमार्फत् आ–आफ्ना व्यक्तगत धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरुको पार्टीका अधिकारिक धारणा आउन सकेका छैनन् । न त बैठक नै बसेका छन् ।
सूचना प्रविधिको यो युगमा सार्वजनिक ठाउँमा बैठक बस्ने सम्भावना नभए पनि भर्चुअल बैठक राख्न सकिने थियो । तर त्यसतर्फ पनि कांग्रेस र एमालेका नेताहरुले गर्न सकेका छैनन् ।
सशस्त्र संघर्ष हुँदै शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक देशको शासन सत्ता सञ्चालन गर्दै आएको नेकपा माओवादी केन्द्रले पनि अहिलेको संकटबारे र नेताहरुको अवस्थाबारे केही बोलेको छैन ।
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जसपा नेपाल, लोसपालगायतका दलका नेताहरु पनि को कहाँ र कस्तो अवस्थामा छन्, पत्तो छैन । के राजनीतिक दलका नेताहरु सेनाको संरक्षणमा रहेका हुन् या नियन्त्रणमा ? दलहरुले नै यस विषयमा स्पष्ट नपारेकाले नागरिकमा अन्योल देखिएको छ ।










