२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जेड आन्दोलनको क्रममा देशभर भएको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

लामिछानेले देशका लुटेराहरूले क्रमशः सजाय भोग्ने बेला आएको उल्लेख गर्दै उनीहरूले जोडेको सम्पत्ति तीन पुस्ताको लुटबाट आएकाले “त्यो राष्ट्रियकरण गरिनुपर्छ र कानुनी कारबाही पनि गर्नुपर्छ” भनेका छन् ।

उनले आन्दोलनको क्रममा राष्ट्रका महत्वपूर्ण सम्पत्ति—प्रहरी, न्यायालय, सुरक्षा निकायसँग सम्बन्धित कागजात—को सुरक्षा अत्यावश्यक रहेको भन्दै सार्वजनिक सम्पत्ति नष्ट हुन नदिन आग्रह पनि गरेका छन् ।

“यो आन्दोलन विशुद्ध जेन–जेडको हो,” भन्दै उनले मुलुकको अबको नेतृत्व जेन–जेडको माग र परिकल्पनाअनुसार अगाडि बढ्नुपर्नेमा आफू स्पष्ट रहेको बताएका छन् ।

रिहाइसम्बन्धी प्रसंगमा उनले आम नागरिकको दबाबपछि कानुनी प्रक्रिया पूरा भएर मात्रै आफू कारागारबाट निस्किएको जानकारी गराउँदै भविष्यमा कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेको बताए ।

एक सचेत नागरिकका हैसियतले सबैलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दै उनले राष्ट्र र जनताको पक्षमा निरन्तर खटिने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले भनेका छन्ः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन ।

सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।