काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जेड आन्दोलनमा भएको सरकारी दमनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
मंगलबार जारी अपिलमार्फत उनले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न र सकारात्मक परिवर्तनतर्फ अघि बढ्न आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा आन्दोलनलाई शान्तिपूर्ण रूप दिने बेला आएको उनले उल्लेख गरेका छन् । सम्पत्ति नागरिककै करबाट बनेको भन्दै उनले त्यसको सुरक्षा गर्न अपिल गरेका छन् ।
घिसिङले युवापुस्तासहित सबैलाई धैर्य र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै “जेन–जेड सहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचनमार्फत राजनीतिक निकास खोज्नुपर्ने” सुझाव दिएका छन् ।
यो कालो समय चिर्दै उज्यालो नेपाल सम्भव रहेको उनको भनाई छ ।










