१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गुमायो नैतिक धरातल, इतिहासमै कलंकको दाग



अ+ अ-

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक सञ्जालमा रोक नलगाउन माग गर्दै प्रदर्शनमा जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि सरकारले नैतिक धरातल गुमाएको छ । यति मात्र होइन, युवामाथि चरम र निर्मम दमन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै कलंकको दाग बोकेको छ ।

कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्यसमेत यो घटनापछि सकिएको छ । जुन उद्देश्यका साथ कांग्रेस र एमालेले सरकार गठन गरेका थिए, त्यसको कुनै पनि काम गर्न सकेनन् । बरु निर्दोष जनतामाथि बर्बर दमन गरेर तानाशाही प्रवृत्ति लाद्न खोजियो । यो आम नागरिकलाई सह्य हुने कुरा होइन ।

दायाबाया भ्रष्टहरुलाई लगाएर हिँड्ने र सधैं उनीहरुको कुरा मात्र सुन्ने बानी परेका प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनताका आवाज सुन्ने फुर्सद कहिल्यै भएन । जेनजीले उठाएका माग सुन्ने फुर्सद भएन । बरु भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई जोगाउन अनेक हथकन्डा अपनाए ।

काठमाडौं महानगरपालिकाको नेतृत्व युवा नेता बालेन शाहले सम्हालेपछि उनलाई असफल पार्न सिंहदरबारभित्र बसेर अनेक षडयन्त्र भएका छन् । बालेनलाई सहयोग पुग्ने कुनै पनि कर्मचारीलाई संघीय सरकारले पठाएन । बरु उल्टै असहयोग गर्नेलाई खटायो । यो कुरा जेनजीलाई पटक्कै मन परेको थिएन ।

बालेनले पटक पटक भने तर सरकारले सुनेन । बरु ओली र देउवाले मिलेर उनलाई पेल्ने र आफ्ना आसेपासे लगाएर तर्साउने, थर्काउने गर्न थाले । त्यति गर्दा पनि बालेन डग्मगाएका छैनन्, किनकी ओली र देउवाको मक्की सकेको हड्डी उनले छामिसकेका छन् । जनताले उनीहरुलाई कुनै पनि हालतमा साथ दिँदैनन् भन्ने बुझेका छन् । तर यही कुरा ओली र देउवाले बुझ्न सकेका छैनन् ।

अहिले एकै दिन १९ जना निर्दोष युवाको सरकारले हत्या गरेको छ । त्यति गर्दा पनि हत्या स्वीकार गर्न तयार छैन । न त पश्चाताप नै गरेको छ । बरु आन्दोलनमा घुसपैठ भएको भन्दै पारदर्शी प्लास्टिकले आफ्नो लाज छोप्न खोज्दै छ । सत्तामा टाँसिएर बस्न आफ्ना आसेपासे, हनुमान र भ्रष्टहरुलाई नै खटाउँदै छ । आफ्ना विरोधीको कुरा सुनेको छैन । नत जनमत नै बुझेको छ ।

जनताले अहिलेको नेतृत्वलाई अस्वीकार गरिसकेका छन् । अब यो पुस्ताको बहिर्गमन पनि निश्चित भइसकेको छ । तर एउटा इतिहास बनाएर आएका नेताहरुको बहिर्गमन रगतले लतपतिएको कलंकको टीका लगाएर हुने भएको छ । जुन रगतका टीका कहिल्यै छोपिने छैन । आफ्नो अस्तित्व र अधिकार खोज्ने युवालाई गोलीले भुटेर शान्त पार्न दुस्साहस गर्ने तपाईंहरुलाई इतिहासले माफी दिने छैन ।