काठमाडौं । जेन जी अभियानमा समर्थन गरेका काठमाडौं महानगर प्रमुख बालेन शाहले केही गम्भीर निर्णय लिन सक्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।
विशेषत: काठमाडौ उपत्यका र उपत्यका बाहिर भएको प्रदर्शन र जनधनको क्षति भएपछि सरकार बिरुद्ध जन आक्रोश बढ्दै गएका बेला मेयर शाह आफूनिकट व्यक्तिहरुसँग गम्भीर छलफलमा रहेको स्रोतले जानकारी दियो । जेन जी अभियानले पनि मेयर बालेनले चाँडै निर्णय लिनुपर्ने भन्दै दबाब दिइरहेको बुझिएको छ ।
सुरक्षा स्रोतले पनि यो अभियानको अगुवाई मेयर शाहले लिएको अवस्थामा राजनीति नयाँ दिशातर्फ मोडिन सक्ने आँकलन गरेको छ ।
हिजो मात्र मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै अभियानलाई समर्थन गर्नुभएको थियो ।
उहाँले लेख्नु भएको थियो
भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।
भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?









