काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुने छ ।
ललितपुरको गोदाबारीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदनहरुमाथि हिजो बन्दसत्रमा छलफल भएको छ । २३ सय ४१ जना प्रतिनिधिलाई १० समूहमा विभाजन गरि प्रतिवेदनहरुमाथि छलफल गरिएको हो ।
आजको बैठकमा समूहगत रुपमा समूह नेताले आफ्नो समूहमा आएका निष्कर्षसहितका सुझाव पेश गर्ने छन् । त्यसपछि समग्र छलफल गरी प्रतिवेदन पारित गरिने छ ।
समूह नेतालाई सुनाउने गरी भएको समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधिहरूले खुलेरै आफ्ना विचार राखेका छन् ।
समूहगत छलफलमा नेताहरुले ‘नीति ठूलो कि नेतृत्व ?, आन्तरिक लोकतन्त्र खै ?, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण किन स्थगित ? लगायतका प्रश्न राखेका थिए । अर्कोतर्फ केन्द्रीय कमिटीको निर्णय विपरीत बोल्नु र व्यवहार गर्नु पार्टी अनुशासनसँग जोडिन्छ कि जोडिँदैन ? नेतृत्वको आलोचना गर्नेलाई कारबाही किन नगर्ने’ जस्ता प्रश्नमार्फत प्रतिवाद भए । पार्टीमा पहिले उमेरहदको विषय किन ल्याइयो ? अहिले हटाउनुपर्ने कारण के भनेर एक पक्षले प्रश्न गरिरहेका थिए भने अर्को पक्ष नेतृत्व बिचारले स्थापित हुने भएकाले उमेरहद नराख्नु उचित रहेको तर्क गरेका थिए ।
त्यसैगरी पार्टी कमिटीमा समावेशिता बलियो बनाउनुपर्ने सुझावदेखि भ्रष्टाचार र फौजदारी कसूरको आरोप लागे लगत्तै पार्टी सदस्यता खोस्नुपर्नेसम्मका सुझाव आएका छन् ।
कतिपय विधान महाधिवेशन प्रतिनिधिहरूले विधान महाधिवेशनमै वडातहबाट प्रतिनिधित्व हुने प्रावधान राखिनुपर्ने प्रस्ताव गरेका छन् ।
विधान महाधिवेशनमा प्रतिनिधिहरुबीच सबैभन्दा बढी बहस उमेरहद, नेतृत्वमा दुई पटक, पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण र अनुशासनको परिभाषामा केन्द्रित रहेको छ ।
यी सबै विषयमा समूहगत छलफल सकिएकाले आज समूहगत छलफलमा उठेका विषयमा समूहका नेताले एकीकृत रुपमा राख्नेछन् ।
त्यसलाई सम्बोधन गरेर प्रस्तुत प्रतिवेदन पारित गर्दै विधान महाधिवेशन सकिनेछ । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागी छन् । उनीहरूले निकाल्ने निष्कर्षले एमालेको विधान तयार हुनेछ ।










