फोटो- एआई
संसार समयअनुरूप चल्छ, कसैलाई पर्खंदैन । नेतृत्व पनि समयअनुसार चल्न नसके परिवर्तन गर्नुपर्छ । परिवर्तन हुन अस्वीकार गर्ने र जनभावना बुझ्न नसक्ने नेतृत्वलाई कि त समाजले अस्वीकार गर्छ कि आन्दोलनले परास्त गर्छ ।
आजभन्दा २० वर्ष अगाडि देखिएको संसार र आजभन्दा २० वर्षपछि देखिने संसार पक्कै भिन्न हुन्छ । कोपिला राम्रो भए फूल राम्रो बनाउन सकिन्छ, सबै जगेर्ना गर्ने मालीको हातमा हुन्छ । यसको मतलब, हामीले देख्न चाहे अनुरूप संसार बन्छ तर कस्तो बनाउने ? हाम्रो हातमा छ यानी कि सबै वर्तमानको क्रियाकलापले देखाउँछ ।
गन्तव्य के हो ? कस्तो सोचले आगामी दिनलाई डोहोर्याउने ? इन्द्रीयहरुलाई कसरी वशमा राख्ने ? के गर्न हुने र के गर्न नहुने ? आफ्नो कर्तव्य के हो ? सबै सोच्ने भार युवा पुस्तामाथि आइसकेको छ । तर युवालाई सधैं बहिस्करणमा पार्ने राजनीतिक नेतृत्वको संस्कारका कारण आज नेपाली युवा पुस्ता पछाडि परेको छ । समाजलाई अगाडि बढाउने र असल मार्गमा लैजान खोज्ने युवा जमातले न देशको शासन व्यवस्था बुझ्न सकेको छ न त अघिल्लो पुस्ताबाट राम्रो संस्कार नै पाउन सकेको छ । त्यसको सबै दोष राजनीतिक नेतृत्व र राज्य सञ्चालकहरुले लिनुपर्ने अवस्था आएको छ ।
अहिले सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा आक्रोस झन् चुलिएको छ । सामाजिक सञ्जालमार्फत् युवा पुस्ताले गर्दै आएको आलोचना रहन नसकेपछि सरकारले झन् कठोर बनेको विश्लेषणसहित युवा विद्रोह सुरु भएको छ । खुला रहेका सामाजिक सञ्जालमा अहिले युवाको आक्रोस यसरी पोखिँदै छ त्यो सायद राजनीतिक नेतृत्वले बुझ्न सकेको छैन । समाजमा युवा पुस्ताले सुरु गरेको अभियानले भित्रभित्रै आगो जसरी सल्किएको छ । राजनीतिक नेतृत्वप्रतिको वितृष्णा छताछुल्ल भएको छ ।
एकातिर देशका सामान्य नागरिकको अवस्था कमजोर छ । दु:ख, अभाव र पीडामा डुबेको छ । जीवनभर पसिना बगाउँदा पनि उसले वृद्धावस्थामा न राज्यबाट कुनै सहयोग पाएको न छ न त असक्त हुँदा उपचार नै पाएको छ । तर ठीक उल्टो नेता र उनीहरुका सन्तान विलासी जीवनशैलीमा रमाइरहेका छन् । सामाजिक असन्तुलनको खाडल यसरी बढेको छ कि त्यो सामान्य छैन । हो यस्तै प्रवृत्तिविरुद्ध युवाहरुको आक्रोस सामाजिक सञ्जालमार्फत् छरपस्ट हुँदै आएकोमा अब एकीकृत हुन थालेको हो ।
धेरै सामाजिक सञ्जाल त बन्द भइसके । तर खुलेका सामाजिक सञ्जालमार्फत् पछिल्ला केही दिन यता ‘नेपो बेबी’ (नेपो किड) ट्रेन्ड चलेको छ । यो ट्रेन्ड मनोरञ्जनको ट्रेन्ड भने होइन । नेपालमा व्याप्त भ्रष्टाचारविरुद्व युवा पुस्ताले सञ्चालन गरेको अभियान हो ।
जहाँ राजनीतिक तथा प्रभावशाली परिवारका सन्तानहरूलाई ‘नेपो किड’ भन्दै ‘टिकटक’ र ’रेडिट’ जस्ता प्लेटफर्महरूमा उनीहरुको जीवनशैलीमाथि प्रश्न उठाइएको छ । राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरुले पाएको विशेषाधिकारका कारण जनता मारमा परेको आरोप सामाजिक सञ्जालमा छताछुल्ल छ ।

अंग्रेजी गीतको धुनमा थरीथरीका आकर्षक इफेक्ट प्रयोग गरिएका भिडिओ सामाजिक सञ्जालमा छताछुल्ल छन् । नेता र उनीहरूका सन्तानको कल्पनीय विलासी जीवनशैलीसँगै सामान्य जनताका सन्तानले देशमा भोगिरहेका दु:ख, अभाव र विदेशमा पसिना बगाउनुपर्ने बाध्यताका कारुणिक दृश्य समेटिएका छन् । यसरी सामाजिक सञ्जालका प्लेटफर्म टिकटक र रेडिटमा यतिखेर #NoMoreCorruption (भ्रष्टाचार चाहिँदैन) र #WakeUpChallenge (जागृत बनौँ अभियान) जस्ता ह्यासट्यागसहित नेताका सन्तानको विलासी जीवनशैली पर्दाफास गर्ने अभियान चलेको हो ।
यो अभियान यत्तिकै चलेको होइन । मनोरन्जनका लागि पनि होइन । यो त युवाहरुको शान्त विद्रोह हो । यसले नेताका सन्तानले प्रवद्र्धन गरेका ब्रान्डहरू बहिस्कार गर्ने, उनीहरूलाई सामाजिक सञ्जालबाट अनफलो गर्ने, विलासी जीवनयापनको स्रोत के हो भन्दै कमेन्ट गर्ने जस्ता कामलाई समेत प्रोत्साहन गरिरहेको छ । यी भिडिओ र पोस्टमा देशका दर्दनाक दृश्यहरू देखाइन्छन् । त्यसलाई सनसनी बनाउन क्रान्तिकारी गीतसमेत राखिएको छ ।
स्वदेशमा रोजगारी नपाउँदा विदेशिनुपर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारसँग छुट्टिएको कारुणिक दृश्य, विदेशमा ज्यान गुमाएर काठको बाकसमा फर्किएको शव र गाउँघरमा अझै पनि तुइन चढेर जोखिमपूर्ण तरिकाले खोला तर्नुपर्ने कष्टकर जीवनयापनका तस्बिर जताततै छरिएका छन् । नेतृत्वले हेर्दा काल्पनिक लाग्ने यी दृश्य वास्तविक हुन् ।
सामाजिक सद्भाव कायम गर्न भने अभियानमा जोडिएकाहरु सजग देखिएका छन् । ‘यो मधेशी र पहाडी वा तल्लो, माथिल्लो, आर्य वा मङ्गोलियनबीचको कुरा होइन । यो नेपाली र भ्रष्ट नेताबिचको कुरा हो । उनीहरूलाई बहिष्कार गरौं । ट्रेन्ड पछ्याऔं’ भन्दै यस अभियानलाई अगाडि सारिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता खासगरी टिकटक र रेडिट प्रयोगकर्ताले चर्को आवाज उठाइरहेका छन् । जनताले राज्यलाई तिरेको करको हिसाव किताव माग्ने काम पनि यही अभियानमार्फत् भइरहेको छ । अभियानमा ‘हाम्रो कर कहाँ जान्छ ?’ भन्दै साङ्केतिक रूपमा नेता तथा उनीहरूको सन्तानको विलासिताका लागि खर्च हुने बताउँदै फोटो राखिएका छन् । नेताका सन्तानले राखेका महँगा गाडी, ब्रान्डेड कपडा, विदेश भ्रमण र भव्य पार्टीका तस्वीरलाई सङ्कलन गरी जनताको दु:खसँग तुलना गर्दै प्रश्न सोधिएको छ ।
सामाजिक सञ्जालमा ‘हाम्रो देश बिरामी’, ‘नेपालका भ्रष्ट राजनीतिज्ञ’, ‘इलेक्सन’, ‘नेपाली राजनीतिज्ञका सन्तान’ जस्ता शब्दहरूको खोजी (सर्च) गर्ने क्रम पनि निकै बढेको छ ।
‘नेपो किड’ के हो ?
‘नेपो किड’ वा ’नेपो बेबी’ शब्द विश्वव्यापी प्रचलित छ । अंग्रेजी शब्द ‘नेपोटिजम’ बाट यो शब्दको उत्पत्ति भएको हो । जसको अर्थ पारिवारिक पहुँच वा नातावादका आधारमा प्राप्त अवसर भन्ने बुझिन्छ । हलिउडदेखि बलिउडसम्म फिल्म स्टारका छोराछोरीहरूलाई उनीहरूको प्रतिभाभन्दा पनि पारिवारिक सम्बन्धका कारण सजिलै अवसर पाएको भन्दै यो शब्द प्रयोग गरिन्थ्यो ।
केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका सन्तानहरूलाई लक्षित गर्दै यो ट्रेन्ड फैलिएको हो ।
टिकटकमा #PoliticiansNepoBabyNepal मार्फत् धेरै भिडियोहरु बनाइएका छन् । जहाँ नेताका छोराछोरीहरूको फोटो, भिडियो वा उनीहरूको महँगो जीवनशैली देखाउँदै प्रश्न गरेका छन् । टिकटकको एउटा भिडियोमा भनिएको छ– ‘के उनीहरूले आफ्नो दक्षता र मेहनतका कारण यो जीवन पाए, वा आफ्ना बुबाआमाको भ्रष्ट शक्ति र सम्पत्तिका कारण ?’
कसैले नेताका विदेशमा अध्ययनरत छोराछोरीको भव्य जीवनशैली देखाएका छन् भने कसैले राजदुतका सन्तानले पाएको विशेष सुविधाहरूलाई उजागर गरेका छन् । यी भिडियोहरूमा व्यक्त आक्रोश र प्रश्नहरूले नेपाली समाजमा मौलाएको असमानता र भ्रष्टाचारप्रतिको जनअसन्तुष्टिलाई स्पष्ट पारेको छ ।
यो ट्रेन्डलाई अझ सक्रियताका साथ अगाडि जाने र उनीहरुको जीवनशैलीमाथि प्रश्न गर्ने क्रम नरोकिने देखिन्छ । यो ट्रेन्ड केवल भर्चुअल संसारमा मात्र सीमित नभइ सडकसम्म पनि आउने देखिन्छ । किनकी अभियानकर्ताहरुले सोमबार संसद् भवन बानेश्वरसहित देशका विभिन्न स्थानमा आन्दोलन नै घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा आवाज उठाउनेहरू अब सडकमा उत्रिएर, विरोध गरेर आफ्नो शक्ति देखाउनुपर्नेमा जोड दिइरहेका छन् । ‘यो हाम्रो समय हो । जति हामी चुप लाग्छौं, उति उनीहरूले हामीलाई शोषण गर्नेछन्,’ भन्ने वाक्य धेरैपटक दोहोरिएका छन् ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी प्रयासलाई लिएर पनि आक्रोश बढेको छ । आवाज उठाउनेहरूले ‘देश जल्दा चुप लाग्नु सहभागिता हो’ भन्दै राष्ट्रिय मुद्दामा नबोल्ने कलाकार, इन्फ्लुएन्सर, मिडियाकर्मी र सार्वजनिक व्यक्तित्वलाई अनफलो गर्ने अभियान चलाउन आह्वान गरेका छन् । बंगलादेशमा यस्तै ‘अनफलो अभियान’ सफल भएको उदाहरण पनि दिइएको छ ।
धेरै युवाले यो ट्रेन्डलाई भ्रष्टाचारविरुद्वको अभियान र राजनीतिक सुधारको आन्दोलनसँग जोड्न थालेका छन् । यसले पनि नेपाली राजनीतिक नेतृत्वले युवा पुस्ताको आवाज नसुनेको र भावना नबुझेको प्रस्ट हुन्छ । अब युवाको आवाज तत्काल सम्बोधन नगर्ने र पेलाहा प्रवृत्ति जारी राख्ने हो भने अहिले सामाजिक सञ्जालमा देखिएको विद्रोह सडकमा पोखिन सक्छ । यति यो अवस्था आयो भने अहिलेको राजनीतिक नेतृत्व कहाँ पुग्ने हो त्यो बेलैमा सचेत हुनुपर्ने देखिएको छ ।










