२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण



अ+ अ-

म्याग्दी। बेनीमा समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले उद्यम गर्न चाहने विद्यार्थीलाई बिनाधितो निर्व्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ ।

क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक रु सात लाख २० हजार ऋण पाएको हो ।

बेनीमा आज भएको २४औँ क्याम्पससभामा श्रेष्ठलाई पहिलो किस्तावापत रु चार लाख ३२ हजार उपलब्ध गराएको बताउँदै क्याम्पसले तोकेको काम गरेपछि बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराइने क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

“शिक्षालाई रोजगार र उद्यमसँग जोड्नका लागि विद्यार्थीलाई परियोजनामा आधारित बिनाधितो र बिनाव्याजमा चार वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्नेगरी ऋण उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “विश्व विद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराएका हौँ ।”

श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीको उच्च पहाडी भूगोलमा पाइने मसलेदार फल टिम्मुर खेती, प्रशोधन र बजारीकरणका लागि प्रस्ताव गरेको परियोजना आयोगले छनोट गरेको थियो । योसँगै १८ वटा क्याम्पसले परियोजना प्रस्ताव गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले क्याम्पसका विद्यार्थीहरूले १३ वटा परियोजना पेस गरेकामा बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको टोलीले अन्तर्वार्ता माध्यमबाट छनोट गरेका पाँच वटा प्रस्तावलाई आयोगमा सिफारिस गरिएको जनाउनुभयो । उहाँका अनुसार श्रेया र श्रीकृष्णको परियोजना छनोट भएको हो ।

“दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उहाँले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने आन्तरिक सहमति भएको छ”, उहाँले भन्नुभयो, “अनुदान आयोगले उपलब्ध गराएको अनुदानलाई बिउ पुँजी मानेर अन्य विद्यार्थीको परियोजनामा लगानी गर्ने योजना छ ।”

ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवर्द्धन कोषमा राखिने जनाउँदै संयोजक सुवेदीले त्यसलाई विद्यार्थीको उद्यमशीलता विकासमा परिचालन गरिने बताउनुभयो । आयोगले गतवर्ष उपलब्ध गराएको रु १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीलाई दुई महिना तालिम दिएको थियो ।

साथै पर्वत, बागलुङ र म्याग्दीका उद्योगको भ्रमण गराएर सहभागीलाई व्यावसायिक योजना मागेको थियो । तालिममा सहभागी ४२ मध्ये १३ जनाले मात्र परियोजना प्रस्ताव गरेका थिए । रासस