काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारले फेसबुकलगायतका सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गराएपछि लगातार प्रतिक्रिया दिँदै आएका छन् । उनले बन्द भइसकेको भनिएको फेसबुकबाटै प्रतिक्रिया जनाएका हुन् ।
सरकारले बिहीबारदेखि सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जालहरु चल्न रोक लगाएको थियो । त्यसपछि यसको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् ।
सामाजिक सञ्जालबाटै भइरहेका बहसमा अनेक प्रक्रिया पाइन्छन् । त्यसैगरी प्रतिक्रिया जनाउने क्रममा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले भने प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्– ‘फेसबुक बन्द हुँदा तनाव हुने रहेछ ।’
महानगर प्रमुख बालेन प्रायजसो: सामाजिक सञ्जालबाटै आफ्ना भनाइहरू राख्ने गर्दछन् ।
उनले व्यंग्यात्मक शैलीमा बन्द भइसकेको भनिएको फेसबुकमै लेखेका छन्– ‘फेसबुक बन्द गरेर नि तनाव हुँदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए,’ ‘बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई ।’
यसअघि पनि उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति सांकेतिक र व्यङ्ग्यात्मक कवितामार्फत आफ्नो प्रतिक्रिया दिएका थिए ।
बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक कविता पोस्ट गर्दै उनले सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले कविता मार्फत् सरकारी निर्णयका कारण नागरिकको अभिव्यक्तिमा ‘ढाट’ वा अवरोध लागेको बताए ।
उनको कविताको पहिलो पङ्क्तिमै भनिएको छ– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि ।,’ अर्थात् अब सामाजिक सञ्जाल बन्द हुँदा संवाद सपनामा मात्र सीमित हुनेतर्फ व्यङ्ग्य गरेको छ ।
उनले सरकारको निर्णयलाई घमण्डको संज्ञा दिँदै यसले नागरिकलाई एक हुन थप प्रेरित गर्ने आशय व्यक्त गरेका छन् । कवितामा भनिएको छ, ‘घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि ।’
बालेनले फेसबुकमा लेखेको कविता-
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको घोषणा गरेलगत्तै प्रमुख शाहको यो कविता आएको हो ।
सरकारको उक्त निर्णयको सामाजिक सञ्जालमा आलोचना, प्रशंसा र बहस भइरहेको छ ।










