१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी अटो र अन्य सामानमा कम भन्सार शुल्क लागू गर्ने ट्रम्पको आदेशलाई जापानद्वारा स्वागत



FILE – Export vehicles are parked at Daikoku Pier in Yokohama, near Tokyo, April 8, 2025. (AP Photo/Hiro Komae, File)
अ+ अ-

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गर्नुभएको छ ।

उहाँले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने कदमका रूपमा व्याख्या गर्नुभयो ।

अघिल्लो २५ प्रतिशतबाट १५ प्रतिशतमा भन्सार शुल्क कटौती गर्ने सम्झौता जुलाई २२ मा दुवै पक्षबीच भएको थियो ।

“जापान र संयुक्त राज्य अमेरिकाबीचको कर वार्ता सरकारको शीर्ष प्राथमिकता थियो । हामीले सकेसम्म चाँडो र उत्तम तरिकाले सम्झौता हासिल गर्न सबै प्रयास गरेका थियौँ”, प्रधानमन्त्री इशिबाले शुक्रबार भन्नुभयो, “यो परिणाम उत्कृष्ट छ ।”

यो कदम जापानी प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट दबाब खेपिरहेको बेला आएको हो । जुलाईमा भएको निर्वाचनमा हार खाएपछि उहाँमाथि राजीनामाको माग बढ्दै गएको छ ।

वासिङ्टनमा जापानका शीर्ष कर वार्ताकार रियोसी अकाजावा र अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै अमेरिकी परियोजनामा पाँच खर्ब ५० अर्ब डलरको जापानी लगानी पुष्टि गर्नुभएको छ ।

अकाजावाले ट्रम्पको आदेशले अटोमोबाइल र अटो पाट्र्समा भन्सार शुल्क १५ प्रतिशतमा सीमित गर्ने र विद्यमान दरमा कुनै थप वृद्धि नहुने स्पष्ट पार्नुभयो ।

अन्य धेरै सामानमा पनि यस्तै ‘पारस्परिक भन्सार शुल्क’ लागू हुने भए पनि विमान र विमानका पाट्र्स भने यसबाट बाहिर रहनेछन् ।

जुलाईमा सम्झौता भए पनि जापानी अधिकारीहरूले केही दिनपछि प्रारम्भिक प्रतिलिपामा त्रुटि भेट्टाएका थिए । त्यसले विद्यमान दरमाथि १५ प्रतिशत थपिएको देखाएपछि जापानले आपत्ति जनायो । वासिङ्टनले गल्ती स्वीकार गर्दै अतिरिक्त भुक्तान भएका भन्सार शुल्क फिर्ता गर्नेमा सहमति जनायो ।

अकाजावाका अनुसार आदेश दुई साताभित्र कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री इशिबाले ट्रम्पलाई आफ्नो पत्र पठाउँदै ‘जापान–अमेरिका सम्बन्धको स्वर्णिम युग निर्माण गर्ने’ इच्छा प्रकट गर्नुभयो र राष्ट्रपतिलाई जापान भ्रमणको निम्तो दिनुभयो ।

अकाजावाले सम्झौतालाई निरन्तर लगानीमै केन्द्रित आफ्नो प्रयासको नतिजा भएको उल्लेख गर्दै भन्नुभयो, “सम्झौतालाई विश्वासपूर्वक र तुरुन्त कार्यान्वयन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।”