२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश–२ मा बढ्दै संक्रमित



अ+ अ-

काठमाडौं । बारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको सख्या ५७ पुगेको छ । बाराका दुईजना र पर्साका एकजना गरेर तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो ।

बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ पाइएको जानकारी उनले दिए । वीरगन्ज इनार्वाका ४६ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी भएको खुलेको मन्त्रालयले जानकारी दिएको छ । ‘कन्ट्रयाक्ट ट्रेसिङ’पछि कोरोना संक्रमण पुष्टि भएका बाराका दुवै जना प्रहरी निगरानीमा भए पनि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थिएन । ४९ दिनअघि नेपालको सप्तरी र भारतको दिल्लीमा भएका धार्मिक सम्मेलनमा सहभागी भई उनीहरु घर फर्किएका थिए ।

‘धार्मिक कार्यक्रम सकेर आएको ४९ दिनपछि उनीहरुमा कोरोना पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘बिहीबार काठमाडौंबाट स्वास्थ्य टोली आउँदैछन, परीक्षणमा के हुन्छ त्यसपछि सिल गर्ने/नगर्ने टुंगो लाग्छ ।’ तबसम्म टोल समुदायलाई सचेत पार्दै सुरक्षा निगरानी बढाइएको उनले बताए । वैशाख १४ मा वीरगन्ज–१६ इनर्वाका ५५ बर्षीय एकजनामा संक्रमण भएको पुष्टि भएपछि उनैको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ को आधारमा बाराका यी दुईलाई जीतपुरसिमरा उपमहानगरको क्वारेन्टाइनमा लगिएको थियो । त्यहींबाट निकालेर लगिएको स्वाबको नमुना परीक्षण गर्दा दुवैमा कोरोना पोजिटिभ देखियो । उनीहरुलाई क्वारेन्टाइनमा लगेको चौथो दिनमा संक्रमण पुष्टि भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित आफ्नै घरमा परिवारसित बस्दै आएका ४३ बर्षीय र सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर घर भई जीतपुरसिमरा–१९ कै इनर्वासिरास्थित एक मस्जिदमा बस्दै आएका ३१ बर्षीय मौलानामा संक्रमण देखिएको हो । मस्जिदमा बस्दै आएका मौलाना मुस्लिम समुदायका बालबालिकालाई पढाउँथे । लकडाउन सुरु भएपछि बालबालिकालाई छुट्टी दिएर उनी आफ्नो एक चेलाको साथमा बस्थे । घरघरबाट पालैपालो ल्याएर उनै चेलाले खाना खुवाउने गरेका थिए । १५ बर्षीय ती चेलालाई पनि प्रहरीले क्वारेन्टाइनमा लगेको छ । यसैगरी घरमा बस्दै आएका ४३ बर्षीयका परिवारका सात जनालाई प्रहरीले बुधबारै क्वारेन्टाइन पु‍र्याएको छ । सौर्य दैनिक