काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारले नियमन गर्नुपर्ने विषयलाई सम्बोधन गर्न नसकेर जनतामाथि जबरजस्ती थोपार्ने कदम चाल्दै सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाएका छन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्ने सरकारको निर्णयप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता श्रेष्ठले यसलाई अधिनायकवादतर्फको संकेतका रूपमा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, “नियमन गर्नुपर्ने विषयहरू नियमन गरिनैपर्छ, तर सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको असफलता हो ।
आफ्नो असफलताबाट सिर्जित परिस्थितिलाई जबरजस्ती जनतामाथि थोपर्नु नालायकी हो । बहाना खोजिरहेको सरकार सामाजिक सञ्जाल नै बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्ने खतरा देखिएको छ । सचेत र सजग बनौं ।”
साथै, श्रेष्ठले सत्तारूढ गठबन्धनकै साझेदार दल नेपाली कांग्रेसप्रति पनि प्रश्न उठाएका छन् । कांग्रेसको लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारका दस्तावेजमा ‘धमिरा लागेको’ टिप्पणी गर्दै दलको मौनताप्रति असन्तोष प्रकट गरेका छन् ।










