काठमाडौं । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रत्यक्ष प्रहार भएको जनाएको छ ।
‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भएकाले यो कदम स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, महासंघले सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने गरी कुनै पनि माध्यम नियन्त्रणको प्रयास कहिल्यै स्वीकार्य नहुने स्पष्ट पनि पारेको छ ।
नागरिकको सूचना पाउने अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सरकारले तुरुन्तै सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्णय फिर्ता लिनुपर्ने महासंघको माग छ ।











