१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनबारे हुने छलफलमा वरिष्ठ उपाध्यक्षसहित तीन जना फरक प्रस्तावको तयारीमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा भोलिदेखि हुने विधान महाधिवेशनका विषयमा छलफल हुने छ ।

बैठकमा भोलिदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

यसैगरी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि पनि छलफल हुने छ ।

विधान महाधिवेशन नजिकिँदै गर्दा दुई ध्रुवमा विभाजित नेताहरूले फरक–फरक रणनीति बनाइरहेका छन् । महाधिवेशनमा मुख्य तीन वटा प्रतिवेदन पेस हुने भए पनि विधान संशोधनमा एमालेमा विवाद छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गर्ने विधान संशोधन प्रस्तावमा फरक मत लैजाने तयारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट समूहले गरेको छ । यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले फरक प्रस्ताव पेश गर्न लाग्नुभएको हो । उहाँहरुले आफ्नो प्रतिवेदनसमेत तयार बनाइसक्नुभएको छ । त्यो प्रतिवेदन आज बस्ने सचिवालय बैठकमै राखेर वैधानिक रुपमै महाधिवेशनसम्म पुर्‍याउने तयारी छ ।

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नुहुने छ ।

उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव सबैभन्दा पेचिलो बनेको छ । प्रतिवेदनमा दुई किसिमका सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेर हद नरहने, जिल्ला कमिटीलाई कार्यकारीरूपमा कायम गर्ने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र कम्तिमा एक महिलासहित १५ जना केन्द्रीय पदाधिकारी रहने लगायतका प्रस्ताव छ ।

यी प्रस्तावमा पार्टी भित्र स्पष्टरूपमा फरक मत देखिइसकेको छ । ७० वर्षे उमेर हद नरहने प्रस्ताव भने सबैभन्दा बढी जटिल बनेको छ । पार्टीमा विधान बमोजिम अध्यक्षलगायतका पदाधिकारी चल्नु पर्नेमा व्यक्ति हेरेर विधान चलाउन खोजिएको आरोप छ ।

विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका रूपमा थप गरिएका ३ सय १५ जना गरी २३ सय ४१ जना सहभागी हुने टुंगो लागेको छ ।