३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमाले विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

एमाले विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा
अ+ अ-

काठमाडौं, भदौ १८ । यही भदौ २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा आयोजना हुन लागेको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

सो ऐतिहासिक महाधिवेशनको एक विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते ११ बजे समुद्घाटन गर्नुहुने भएको छ । दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २ हजार ३ सय ४१ सहभागी हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको यो दोस्रो विधान महाधिवेशनको गरिमा, औचित्य र महत्वलाई ध्यानमा राखेर यसको तयारी सम्पन्न भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा गौतमले जानकारी दिनुभयो । ‘महाधिवेशनको ऐतिहासिक, भव्य र सभ्य सफलताका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरूको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरूमा स्वागत गेटहरू निर्माण लगायत आवश्यक सबै काम पूरा भएका छन्’, पत्रकार सम्मेलनमा गौतमले हस्ताक्षर गरी वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनमा पार्टीका तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ । त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनहरू उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ ।

विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ । अन्त्यमा समसामयिक प्रस्तावहरू पारित गर्दै दोस्रो विधान महाधिवेशन समापन गरिने उहाँले जानकारी दिनुभयो ।

अध्यक्षले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने छ । ‘राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको छ, निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरेको छ’, गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ । साथै, पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्युरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ उहाँले जानकारी दिनुभयो । पदाधिकारीमा एक जना महिला अनिवार्य गरिएको पनि उहाँले बताउनुभयो ।

पार्टी महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायहरू, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ । ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका हर क्षेत्रले हाम्रो पार्टीको देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थाप्रति विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको छ, मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्बाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ’, उहाँले भन्नुभयो ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरू बीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ ।

विधान महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आठवटा उपसमितिहरू निर्माण गरिएका छन् । महाधिवेशनको भव्य सफलताका लागि केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सम्पन्न भएको छ ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसांस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा सांस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन र वाग्मती प्रदेश कमिटी, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटी र जनसंगठनहरुको पहल र अगुवाइमा स्वागत गेट व्यवस्थापन हुने छन् ।

पार्टीको विधान महाधिवेशन ऐतिहासिक महत्वको महाधिवेशन भएकाले यसको प्रभावकारितामा पत्रकारको समेत महत्त्वपूर्ण भूमिका रहने एमालेले स्पष्ट पारेको छ । तथ्यगत रूपमा सूचनाहरूको सङ्कलन र सम्प्रेषण गरी महाधिवेशनलाई भव्य र सभ्य बनाउन पत्रकारहरूको रचनात्मक सहयोग रहने अपेक्षा गरिएको छ ।