काठमाडौं । नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको रेलिङ चोरी भएको छ ।
अति व्यस्त रहने सडकमै रहेको रेलिङ चोरी भएको हो ।
भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चोरी भएको अनुमान छ ।
कार्यालयले हाल पुलमा सुरक्षाका लागि रातको समयमा पनि देखिने पाइपहरू राखेको जनाएको छ ।
नयाँ पुलको आडैमा रहेको पुरानो पुलको फलामका रेलिङ चोरी भएका हुन् ।
चितवन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराई चोरी भएका सामान र चोरी गर्ने व्यक्तिको खोजी सुरू भएको छ ।
नारायणगढदेखि झन्डै ३२ किलोमिटर पर मुग्लिनतर्फ कालीखोला नजिकै नाम्सी पुल छ ।
नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् ।











