१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमबीच आज भेट हुने, ओली आजै बेइजिङ जाँदै



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उत्तर कोरियाली नेता किन जोङ हुनबीच आज भेटवार्ता हुने भएको छ ।

बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेका राष्ट्र तथा सरकार प्रमुखबीच दुईपक्षीय भेटवार्ता गर्ने क्रममा प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमबीच भेट हुन लागेको हो ।

भेटको समय भने तय भइसकेको छैन । तर दुवै देशको पहलमा भेटघाटको कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच हिजै भेटवार्ता भइसकेको छ ।

यसैबीच चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आज बेइजिङ जान लाग्नुभएको छ ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।