३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीको कटानले बस्ती जोखिममा



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

“नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उहाँले भन्नुभयो, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।”

विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

“विगतका वर्षमा आउने बाढीबाट धेरै दु:ख पायौँ”, स्थानीय खडक बुढाले भन्नुभयो, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उहाँले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

दोधारा-चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताउनुभयो । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उहाँले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिनुभयो ।

तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भन्नुभयो । रासस