१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले अध्यक्ष रञ्जितालाई वैधानिकता दिएपछि विवाद समाधानः प्रवक्ता पण्डित



अ+ अ-

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रिय कार्यसमिति बैठक काठमाडौंमा शुरु भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आईतवारदेखि केन्द्रिय समितिको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनितिक विषय, पार्टीको विधान संशोधन, केन्द्रिय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिनुभयो । उहाँले हाल पार्टी भित्र विवाद नरहेको पनि बताउनु भयो । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उहाँको दाबी छ ।

अध्यक्ष रञ्जितालाई आफूसमेत सहभागी भएर दुईपटक कारबाही गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएको बताउनु भयो । उहाँले अब यहाँ सन्तुष्ट, असन्तुष्ट भन्दा पनि पार्टी बचाएर अगाडी लैजाने कुरा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिको देशको र हाम्रो पार्टी भित्रको समसामयिक राजनितिक विषयमा हामी छलफल गर्छौ । त्यसपछि हाम्रो महत्वपुर्ण कुरा छ, विधानलाई संशोधन गर्छौँ । हाम्रो जुन पुरानो विधान छ, त्यसलाई संसोधन गर्ने बारेमा छलफल गर्छौँ । बुँदाहरु तयार छन्, साथीहरुको बीचमा त्यसलाई राख्छौँ । र अहिले हामी संस्थापक जो २१ जना केन्द्रिय सदस्यहरु मात्रै छौँ । यसलाई हामीले अरु बढाएर केन्द्रिय सदस्यहरुलाई अद्यावधिक गर्ने हाम्रो कार्यक्रम छ । र निर्वाचन आयोगमा लगेर त्यसलाई हामीले अद्यावधिक गर्ने र अरु केही विविध विषयहरुमा चाहीँ हामी छलफल गर्छौँ । यहाँ सन्तुष्ट र असन्तुष्टको कुरा छैन । किनभने निर्वाचन आयोगले बैधानिकता रञ्जितलाई दिएपछि यहाँ असन्तुष्ट भन्ने कुरै भएन । वैधानिक अध्यक्षले बोलाएको बैठक हो यो । हामीले धेरै पटक उहाँलाई कारबाही गरेर पनि निर्वाचन आयोगले उही नै हो तेरो अध्यक्ष भनिआयो । म पनि हुँ, दुई चोटी कारबाही गरिसकेको हो रञ्जितालाई । तर बैधानिकता भएन । त्यसैले अहिले सन्तुष्ट र असन्तुष्टको कुरा छैन । पार्टी बनाउने कुरा छ, बचाएर लैजाने कुरा छ ।’

नाउपाको केन्द्रिय समिति बैठक सोमबारसम्म चल्नेछ । बैठकमा पार्टी संरक्षक रेशम चौधरी र उहाँका पक्षधर भने सहभागी हुनुभएको छैन ।