२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छ : राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

गौरापर्व, २०८२ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गर्नुभएको छ । उहाँले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलत: पश्चिमी क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गर्नुभएको छ ।

यस पर्वमा शिव र पार्वती (गौरा) को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कूलदेवता प्रसन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा पाँच वा सोभन्दा बढी प्रकारका गहुँ, धान, केराउ, मास र गहतजस्ता अन्नबाट बनेको ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरेर मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

“यस पर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एकअर्काका दु:ख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने चलन रहिआएको देखिन्छ”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले गौरापर्वको महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभएको छ, “यस्ता पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।”