६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्रीका छोरासहित कफी व्यवसायी महासंघको टोली किन गयो अस्ट्रेलिया ?



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका छोरा विजयीसहितको कफी व्यवसायी महासंघको जम्बो टोली अस्ट्रेलिया पुगेको छ ।

कफी प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरमा लगानी खोज्ने भन्दै कृषिमन्त्री अधिकारीको छोरा विजयसहित महासंघको जम्बो टोली अस्ट्रेलिया पुगेको हो ।

भ्रमण टोलीमा पालुङ्टारका पूर्वनगरप्रमुख दीपक कँडेल, कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारी, महासचिव सन्तोष पोखरेल, बुटवलका कुकर क्याफेका सञ्चालक, भाइब्रेन्ट क्याफे र बुइङका हाउस, काठमाडौंका सञ्चालकसमेत रहेको बताइएको छ ।

कफी उत्पादनका लागि अन्तर्राष्ट्रिय रुपमा लगानी खोज्ने भन्दै झन्डै १० सदस्यीय टोली तीन वर्षे भिसा लगाएर अस्ट्रेलिया पुगेको हो ।

टोलीमा सहभागीमध्ये कतिपयसँग ठूलो रकम लिएको बताइएको छ । केही सदस्य उतै अवैधरुपमा बस्ने योजनामा रहेका छन् । मन्त्री अधिकारीका छोरा विजयसहित अस्ट्रेलिया पुगेको कफी व्यवसायी महासंघको टोलीमा रहेकामध्ये केहीलाई अवैध रुपमा उतै बसाल्ने गरी खर्चको जोहो गरेर लगिएको हो ।

यसको मुख्य हर्ताकर्ता कफी व्यवसायी महासंघका अध्यक्ष र महासचिव छन् । उनीहरुले भ्रमण टोलीमा रहेका अन्यसँग करोडौं रकम असुलेर त्यहाँ लगेको स्रोतको दाबी छ ।

तर कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले भने नेपालको कफी प्रवद्र्धनको उद्देश्यले ७ जना अस्ट्रेलिया आएको र कार्यक्रम सकेर शनिबार स्वदेश फर्कन लागेको बताएका छन् ।