२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टिमलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । आज यहाँ आयोजित राखेपको ६२औँ वार्षिकोत्सव कार्यक्रममा खो खो टिम सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो ।

पुरुष तथा महिला टोलीलाई समान रु एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेष्ट खेलमा रजत जितेका थिए । खो खो टिमसँगै जुनियरमा दुई र पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय खेल सङ्घ, एक प्रायोजक, दुई जना पत्रकार र एक स्थानीय तहलाई सम्मान गरिएको राखेपले जनाएको छ ।

जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही रु ५० हजार नगदसहित पुरस्कृत भएका छन् । अर्पिलले थाइल्याण्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलङ्कामा भएको एसियाली बक्सिङ यु–१९ मा कास्य जितेका थिए ।

पूजाले विश्वकप एसियाली छनोट खेलमा दुई सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । नेपाल र मलेसियाबीचको यु–१९ टी–२० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन् ।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन रु ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक तथा मलेसियामा भएको १०औँ एसियाली पारा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल सङघमा नेपाल क्रिकेट सङ्घ (क्यान) रु एक लाख नगदसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेशनल प्रालि र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका (मकवानपुर) लाई पुरस्कृत गरियो ।

उत्कृष्ट खेलकुद पत्रकार पुरुषतर्फ खेलाडी डटकमका अञ्जन खड्का र महिलातर्फ मेरो खेल डटकमकी लक्ष्मी शाक्य जनही रु २० हजारसहित सम्मानित भएका छन् ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भएका हुन् । दुवैले जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा सङ्घसंस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द बज्राचार्य जनही रु १५ हजार नगदसहित सम्मानित भएका छन् ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित   भएका आयोजकले जनाएको छ ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय सङ्घरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भएका छन् । परिषद् र करार सेवाका पुरस्कृतले जनही रु १० हजार नगद प्राप्त गरेका राखेपले जनाएको छ ।

राखेपका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायत आज यहाँ आयोजित एक कार्यक्रमबीच सबैलाई पुरस्कार प्रदान गरेका छन् ।