१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनलाई लयमा फर्काउन सभामुख घिमिरेको अपिल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनलाई लयमा फर्काउन अपिल गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सुरुमै आफ्ना भनाइ राख्दै यस्तो अपिल गरेका हुन् ।

रास्वपा लगायतका प्रतिपक्षले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै लगातार संसद् बहिस्कार गर्दै आएका छन् । सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले राष्ट्रिय सहमतिको आवाज प्रकट गर्न आग्रह गरे ।

उनले भने, ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुद पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।’

यस्तै, उनले बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्ने बताउदै भने, ‘हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद् केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र होइनस राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो । समितिहरूमा जस्तै सभामा पनि संसद्को गर्भमा रहेका यी कानुनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु । आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु। म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै माननीय सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु ।’