१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालाई राजनीतिमा आउन उकास्ने ओली किन भए ब्याक ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको विवाद उत्कर्षमा छ । यही भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावमा प्रदेश र जिल्ला कमिटीबाट पनि सुझाव आइसकेका छन् ।

प्रस्तावित विधानको मस्यौदा तयार पारेर सुझाव दिन एमालेले सबै कमिटीहरुमा पठाएको थियो । भदौ १० गतेसम्मको समयसीमा दिएर पठाइएको मस्यौदामा अधिकांश ठाउँबाट सुझाव आइसकेको छ । अधिकांश सुझावमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था राख्न नहुने उल्लेख छ । तर केही कमिटीले भने ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था राख्न सुझाव दिका छन् ।

विशेष गरी एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन हुने या नहुने भन्नेमा चासो छ । अधिकांशले पूर्वराष्ट्रपतिलाइ सक्रिय राजनीतिमा नआउन सुझाव दिएका छन् । केहीले मिश्रित सुझाव पनि दिएका छन् । तर अहिलेको सुझाव अध्यक्ष ओलीकै निर्देशनबमोजिम आएको बताइएको छ ।

ओलीले अपेक्षा गरेभन्दा केही फरक सुझाव आएपछि भदौ १३ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ । सबै सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न भन्दै केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको हो । तर यो बीचमा ओलीलाई गलाउने रणनीति भण्डारी पक्षमा रहेका एमालेका केही नेताहरुको तयारी छ । भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउने बाटो खुला गर्ने गरी विधान संशोधन गर्न दबाब दिने तयारी यो समूहको छ ।

हुन त एमाले अध्यक्ष ओली नै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकास्ने व्यक्ति हुनुहुन्छ । उहाँले झन्डै दुई वर्षअघि दिएको एउटा टेलिभिजन अन्तरवार्तामा पनि पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने बताउनुभएको थियो । जतिबेला ओली र भण्डारीको निकै राम्रो सम्बन्ध थियो ।

ओलीले २०८० साल असोजमा पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा भण्डारी सक्रिय राजनीतिमा आउन सक्ने बताउनुभएको थियो । ओलीले निष्कृय बस्नुभन्दा सामाजिक क्रियाकलाप वा राजनीतिक गतिविधिमा सक्रिय हुनसमेत भण्डारीलाई सुझाव दिनुभएको थियो ।

‘विद्या भण्डारी एमालेमा फर्किने, राजनीति गर्ने पनि चर्चा छ । तपाईँ के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो, ‘उहाँको खुसीको कुरा हो त्यो । पूर्व राष्ट्रपतिको हिसाबले निष्कृय बस्नुभन्दा कुनै हिसाबले सक्रिय हुनुस् । सामाजिक क्रियाकलापमा सक्रिय हुनुस्, या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुन हुँदैन भन्ने बेकारको कुरा हो यो । पोलिटिक्समा आउन हुँदैन भन्नु बेकारको कुरा हो ।’

‘एमालेको बटम लाइन होइन विद्या भण्डारी राजनीतिमा आउन हुँदैन भन्ने ?’ भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो नि । राजनीति भनेको कुरा कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन । पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष (सभापति) बनाउँछन् भने पनि पाउँछ । को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । समाज सेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।’

ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्री पनि बन्न सक्ने बताएका थिए । ‘विद्यादेवी भण्डारी एमालेमा फर्किएर, राजनीति गरेर भोलि प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो, ‘सक्नुहुन्छ । पाइन्छ । सम्भावना छ, छैन त त्यो उहाँको कुरा हो । आन्दोलनको कुरा हो । फर्किनुहुन्छ कि हुँदैन, त्यो उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु ।’

तर दुई वर्ष नबित्दै ओलीको बोली पुरै फेरिएको छ । अहिले ओली भन्दै हुनुहुन्छ– राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु हुँदैन ।

भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेर राजनीतिमा होमिएको घोषणा गरेपछि ओली त्यसको विपरित देखिनुभएको हो । अझ भण्डारीले एमालेको आगामी अध्यक्षमा दाबेदारी गरेपछि त ओलीले उहाँले नवीकरण गरिसकेको पार्टी सदस्यता पनि रोकिदिनुभएको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण एक वर्ष अगाडि नै भएको भनिए पनि कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा पार्टी सदस्यता नवीकरण नहुने ओलीको तर्क छ । भण्डारीले राष्ट्रपति हुनेबेला २०७२ सालमा सदस्यता परित्याग गरेकाले उनको सदस्यता नवीकरण हुने प्रश्न नै नआउने ओलीको भनाइ छ ।

‘उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेर नै राष्ट्रपति हुन जानुपर्छ, सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, होला कर्मचारीले त रसिद काट्दिन्छ । त्यसरी लिने होइन । सबैलाई थाहा छ, उहाँले छोडेको सदस्यता । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यतामात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ भन्ने प्रश्न गर्दै ओलीले पार्टीको एक सार्वजनिक कार्यक्रममा बताउनुभएको थियो ।

भण्डारी सक्रिय राजनीतिमा आएपछि आफ्नो अध्यक्ष पद नै संकटमा पर्ने डर ओलीलाई छ । त्यही कारण उहाँले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न खोज्नुभएको हो । अझ भण्डारीले दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने भनेपछि ओली झस्कनु भएको हो । आफू तेस्रो कार्यकाल अध्यक्ष बन्नकै लागि विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था विधानबाटै हटाइसक्नुभएको छ । त्यसपछि उहाँ तेस्रो कार्यकालको अध्यक्ष बन्ने लाइनमा लागिसक्नुभएको छ ।

आफू तेस्रो पटक पार्टी अध्यक्ष बन्ने लालसामा ओलीले एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई राजनीतिमा स्पेस दिन नचाहनुभएको हो ।