२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला 



अ+ अ-

काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३:०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३:०० बजेदेखि नै चार ढोका खुला गरिएको हो ।

चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाम  तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको छ ।

दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३:०० बजेदेखि नै  मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषले जनाएको छ । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५:३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषले जनाएको छ ।