३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमालेमा महाभारत : ओली छेक्दै, भण्डारी अघि बढ्दै- गन्तव्य कहाँसम्म ?

एमालेमा महाभारत : ओली छेक्दै, भण्डारी अघि बढ्दै- गन्तव्य कहाँसम्म ?
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपतिसमेत रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुई जनाबीच सार्वजनिक रुपमा हुन थालेको आरोप प्रत्यारोपले एमालेका कार्यकर्तामा पार्टी फुट्ने हो कि भन्ने छटपटी बढेको छ । शीर्ष तहमा बढेको विवाद र आरोप प्रत्यारोपले तल्लो तहसम्मै पार्टी चिरा पर्ने जोखिम पक्कै बढेको हो ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल समारोह समिति मूल व्यवस्थापन समिति सम्पर्क कार्यालय’को उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीप्रति आक्रोस व्यक्त गरेलगत्तै ओलीले शुक्रबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जवाफ फर्काए । जसले उनीहरुबीचको दुरी कतिसम्म बढेको छ भन्ने देखाएको छ । ओली र भण्डारीबीच चर्किएको द्वन्द्व र आरोप प्रत्यारोप पक्कै पनि सामान्य होइन । किनकी दुई नेताबीच विगतमा निकै सौहार्दपूर्ण सम्बन्ध थियो । ओलीले भनेको भण्डारीले नकाट्ने र भण्डारीले भनेको ओलीले सहर्ष स्वीकार गर्ने अवस्था थियो । तर त्यही सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा पुगेको हो ।

दुई कार्यकाल राष्ट्रपति भएर एमालेको सक्रिय राजनीतिमा हामफालेकी पूर्वराष्ट्रपति भण्डारी अहिले एमालेकै नेता तथा कार्यकर्तामाझ जिल्लाजिल्लामा पुग्न थालेकी छन् । उनले आफू एमालेकै कार्यकर्ता भइरहेको दाबी गरिरहँदा ओलीले पार्टी सदस्यता त्यागेकाले अब दिन नसकिने अडान लिएका छन् । जबकी भण्डारी आफ्नो सदस्यता कसैले खोस्न नसक्ने भन्दै ओलीलाई चेतावनीपूर्ण भाषामा जनताको बहुदलीय जनवाद सिकाउन थालेकी छन् । एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद विद्याका पति स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त हो । एमालेले तीन दशकदेखि यही सिद्धान्त अंगालेर अघि बढिरहेको छ ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको दिन असार १४ गते नै भण्डारीले अब आफूले जबजलाई थप बलियो बनाउने घोषणा गरेकी थिइन् । त्यसबेला ओली र भण्डारी एउटै मञ्चमा थिए । ओली सहभागी कार्यक्रममै भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको र अब राजनीतिबाट पछाडि नफर्कने अडान राखेकी थिइन् । तर त्यो कुरा ओलीलाई मन परेको थिएन । उनले लगत्तै भण्डारीको सदस्यता नवीकरण नभएको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि ओलीले पार्टी स्थायी कमिटी, पोलिटब्यूरो हुँदै केन्द्रीय समितिबाट पनि भण्डारीलाई पार्टी सदस्यता नदिने नीति पारित गरिदिए । एमालले औपचारिकरुपमै गत साउनमा पूर्वराष्ट्रपतिलाई दलको सदस्यता दिन नमिल्ने निर्णय गरेर देशैभरि सर्कुलरसमेत पठाइसकेको छ । तर, भण्डारीले चाहिँ आफू नेकपा एमालेको सदस्य रहेको दाबी गर्दै समानान्तर गतिविधि अघि बढाएकी छन् ।

भण्डारीले पार्टी सदस्यता नभए पनि आफू एमालेकै कार्यकर्ता रहेको बताइरहेकी छन् । एमालेको कार्यकर्ता भएरै आफू जनतामाझ जाने उनको तयारी छ । त्यसैका लागि उनले अहिले ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल समारोह समिति मूल व्यवस्थापन समिति सम्पर्क कार्यालय’लाई आफ्नो सम्पर्क कार्यालय बनाएकी छन् । यो गतिविधि ओलीलाई पक्कै चित्त बुझेको छैन । त्यही कारण उनले भण्डारीप्रति आक्षेप लगाउन थालेका छन् ।

उनले भनिरहेकी छन्– ‘म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु । र, नेकपा एमालले जुन मार्गदर्शक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवादलाई लिएको छ, त्यसको मर्म र भावना अनुसार हामीले काम गर्ने हो । र, त्यसको मर्म र भावना अनुसार काम भयो कि भएन त्यसको समीक्षा गर्ने बेला भएको छ ।’

उनले पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरेकी छन् । ओलीले पार्टीलाई सिद्धान्तअनुसार चलाउन नसकेको मात्र भनेकी छैनन्, ओली नेतृत्वको सरकार कामसमेत गर्न नसकेको आरोप लगाएकी छन् । पार्टी नेतृत्व र सरकारको नेतृत्वप्रति नै प्रहार गरेर भण्डारीले असन्तुष्ट कार्यकर्ताको मन जित्न खोजेकी छन् । एमालेमा ओलीमाथि प्रश्न उठाउनेहरु किनारा लाग्दै आएका बेला भण्डारीले फेरि अर्को जमर्को गरेकी हुन् ।

सामान्यत आफ्नो आलोचना मन नपराउने ओली पनि भण्डारीविरुद्ध खनिएका छन् । पूर्वराष्ट्रपति भण्डारीले च्यासलको आलोचना गरेको भोलिपल्टै ओलीले शुक्रबार च्यासलबाटै विद्या भण्डारीलाई कडा जवाफ फर्काएका छन् । दुई–दुईचोटि राष्ट्रपति बनाएर पठाएको बताउँदै शीतलनिवासबाट फर्केपछि यसरी पार्टीलाई अप्ठ्यारोमा पार्ने कल्पना नगरिएको ओलीको भनाइ छ । विद्या भण्डारीले राष्ट्रपति हुँदा आफैं सदस्यता त्यागेको र सदस्य नै नरहेको व्यक्तिले कर्मचारीलाई झुक्याएर नवीकरण गर्न खारेजको आरोप ओलीले लगाए ।

ओलीले कसैको सदस्यता च्यासलले खोस्न आवश्यक नरहेको बताए । उनले अनावश्यक आरोप नलगाउन भण्डारीलाई चेतावनी नै दिए । उनले भनेका छन्– ‘पूर्वराष्टपतिजीको सन्दर्भमा तपाईहरुलाई पनि भ्रम नपरोस् । उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँले सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो ।’

ओलीले अगाडि भनेका छन्– ‘फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, कर्मचारीले त रसिद काटिदिन्छ त । त्यसरी लिने होइन राष्ट्रपतिले । उहाँले छोडेको सदस्यता सप्पैलाई थाहा छ । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’

ओलीको अभिव्यक्ति निकै कठोर देखिन्छ । भण्डारी निकट केही नेताहरुले पार्टीले सदस्यता नवीकरण नगर्ने भनेर गरेको निर्णय परिवर्तन गराउन सकिन्छ कि भनेर विकल्प खोजिरहेका छन् । तर ओलीले सदस्यता कुनै पनि हालतमा नवीकरण नहुने भन्दै भण्डारीलाई एमाले प्रदेशमा सधैंको रोक लगाउन खोजेका छन् । उनले भनेका छन्– ‘यतिबेला भन्नुहुन्छ, ल मेरो सदस्यता, कठैबरी मेरो सदस्यता । अनि यत्रो वर्ष त कठैबरी मेरो सदस्यता भन्नुभएको थिएन । राष्ट्रपति हुन नजानुपथ्र्यो नि त । मेरो सदस्यता, प्यारो सदस्यता । म त्यसैमा बस्छु, म जान्नँ राष्ट्रपति हुन भन्नुपथ्र्यो नि त । त्यसबेला चाहिँ छोडेर जानुभो राष्ट्रपति हुन । अनि आएपछि सदस्यता छैन । नभएको सदस्यता नवीकरण हुँदै हुँदैन ।’ यसको अर्थ ओली कहिल्यै पनि भण्डारीलाई अब पार्टीमा भित्र्याउन तयार छैनन् ।

उनले पार्टीमा सधैं असन्तुष्ट, पार्टीको पक्षमा कहिल्यै नबोल्ने र पार्टीका विरुद्ध जनसंगठनका, चुनाव–सुनाव हारेका मान्छेहरु, असन्तुष्ट भएका मान्छे, तिनलाई भेला गरेर, असन्तुष्टहरुको जमात खडा गरेर भण्डारी हिँडेको आरोपसमेत लगाएका छन् । त्यति मात्र होइन, जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेको असन्तुष्टि जनाए । भण्डारीका कुनै पनि गतिविधि मान्य नहुने चेतावनी उनको छ ।

यसरी ओली र भण्डारीबीच जुहारीले एमाले संकटमा पर्ने जोखिम बढेको छ । भण्डारी एमालेकै नाम लिएर अघि बढ्ने रणनीतिमा रहँदा ओली कुनै पनि हालतमा रोक्ने पक्षमा छन् । तर भण्डारी नरोकिने हो भने एमालेको एउटा हिस्साले उनलाई बोक्ने पक्का छ । यो अवस्थामा अब एमाले फेरि फुटकै बाटोमा अघि बढ्छ या भण्डारीलाई पार्टीमा सर्तसहित भित्र्याउन तयार होला ? यो प्रश्न अझै केही समय अनुत्तरित नै रहने देखिएको छ ।