काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी नेतृत्वलाई चुनौती दिनुभएको छ । आफ्नो सदस्यता रोकिदिएपछि अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएकी भण्डारीले सरकारको कामको पनि चर्को आलोचना गर्नुभएको छ । यसले एमालेभित्र नयाँ धुवीकरण स्पष्टरुपमा बढेको संकेत गर्दछ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलाई दायाबायाँ राखेर मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल समितिको कार्यालय थापागाउँमा उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई चुनौती दिनुभएको हो । उहाँले आफूलाई राजनीतिमा आउन रोक लगाउने र सदस्यता नवीकरण नगर्ने निर्णयविरुद्ध निरन्तर खबरदारी गरिरहने बताउनुभएको छ । पार्टीभित्रको विकृति विसंगतिविरुद्ध लडिरहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले पार्टीले जिम्मेवारी नदिए पनि आफू एमालेकै सदस्यता भएको दाबी गर्नुभयो । ‘मलाई पार्टीले जिम्मेवारी देओस् कि नदेओस् त्यससँग सरोकार छैन, म नेकपा एमालेको सदस्य हुँ’ भण्डारीले भन्नुभयो, ‘त्यो नाताले जे सिद्धान्त धारण गरेको छु, त्यसअनुसार काम गर्ने हो । पार्टीहरूमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति र विसंगतिका विरुद्ध पनि म निरन्तर लडिरहन्छु ।’
कार्यक्रममा उहाँ आफूलाई पूर्वराष्ट्रपतिभन्दा पनि एमालेको पूर्वउपाध्यक्षका हैसियतमा प्रस्तुत गर्नुभयो । त्यति मात्र नभएर उहाँले आफ्ना पति स्वर्गीय मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउने जिम्मेवारी पनि आफ्नो भएको दाबी गर्नुभयो । एमालेभित्र देखिएका विकृति, विसंगतिको चर्को आलोचना गरेकी भण्डारीले सरकारले पनि जनताका अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति रुष्ट देखिनुभएका उहाँले आफ्नो राजनीतिक इतिहास सम्झना सुझाव दिनुभयो । ‘मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्यता लिएको हुँ’, भण्डारीले भन्नुभयो, ‘म राजनीतिक दलसँग आबद्ध भएर सुरु गर्दा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन । म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झडा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं ।’
उहाँले २०३७ सालमा पार्टी सदस्य लिएको ४५ वर्षपछि नवीकरण नहुने निर्णयकै कारण आफ्नो सक्रियता नरोकिने सन्देश भण्डारीले सुनाउनुभयो ।
भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेले त्यसलाई स्वीकार गरेको छैन । बरु भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न सुझाव दिएको छ । तर यो कुरा भण्डारीलाई स्वीकार्य भएको छैन । उहाँले आफूलाई राजनीतिमा फर्कन कसैले नरोक्ने भन्दै अभियान नै सुरु गर्नुभएको छ ।
यही भदौ २ गते विराटनगर पुगेर सार्वजनिक कार्यक्रममा सहभागी भई फर्किएकी भण्डारी अब मदन भण्डारी फाउन्डेसनले गर्ने कार्यक्रम लिएर देशव्यापी जाने तयारी हुनुहुन्छ । त्यसअघि उहाँले पार्टीका नेताहरुसँग छलफल गरिरहनुभएको छ । त्यति मात्र होइन, एमालेभित्रका केही मुख्य नेताहरुलाई आफ्नो पक्षमा पारेर उहाँले अध्यक्ष ओलीलाई चुनौती दिइरहनुभएको छ ।
थापागाउँमा भण्डारीले जुन कार्यक्रम गर्नुभयो र त्यहाँ सहभागीहरुको उपस्थिति हेर्दा एमालेमा झस्का पसेको छ । यही कार्यालयलाई भण्डारीले सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्नुहुने छ । अहिले भण्डारीले देखाउँदै आएको सक्रियताले एमालेको मुख्यालयमा भुइँचालो गएको छ ।
भण्डारीले थापागाउँबाट खोलेको फायरले क–कसको मुटु हल्लाउँछ त्यो भविष्यले नै देखाउला । तर आलोचनाकै बीच उहाँले अघि बढाउनुभएको सक्रिय राजनीतिको यात्रामा देखिएको साथले भने भण्डारी पक्षलाई उत्साहित बनाएको छ ।










