काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।
समितिबाट पारित विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।
माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ भने रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे मत राखेको छ ।
यस्तै, राप्रपाले पनि निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ ।
विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।









