काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यसतो आरोप लगाउनुभएको हो । उहाँले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गर्नुभयो । उहाँले दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारुढ दलहरुको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सत्तारुढ दलहरु दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रुपमा ठिक छ न त व्यवहारिक ढंगले नै उपयुक्त हुन्छ । यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला । प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ । त्यो उहाँहरुले नै सोचिरहनुभएको होला । तर नेपाली जनताले उहाँहरुको यो मिसन पूरा गर्न दिने छैनन् ।’
उहाँले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकुल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।










