काठमाडौँ: गैरनाफामूलक संस्थाका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २७ वर्ष पूरा गरेको छ ।
विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेसनलको सहकार्यमा उक्त अस्पताल सन् १९९८ मा स्थापना भएको हो । वार्षिकोत्सवका अवसरमा आज अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै साधारण ओपिडी बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको थियो ।
त्यस अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले नगरपालिकाको सहयोगमा निर्माण गरिएको अस्पतालको प्रशासन कार्यालय भवनको उद्घाटन पनि गर्नुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालले गरिब, न्यून आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार, ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता केवल शारीरिक अवस्था मात्र होइन, यो सामाजिक, आर्थिक र मानसिक पक्षसँग पनि गहिरो रूपमा जोडिएको विषय भएकाले अस्पतालले उपचारसँगै पुनःस्थापना, मनोपरामर्श, व्यावसायिक तालिम र जनचेतना कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष साम्देन लामा, वीर अस्पतालका निर्देशक प्रा डा दिलीप शर्मा, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ, वडा नं ६ का अध्यक्ष नवराज लामा, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष ध्रुव गिरीलगायतका वक्ताले अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

यस अघि अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल सहितका खाध्य सामग्री बितरण गरिएको प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिनुभयो ।










