२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुरोग विशेषज्ञ डा. रामेश किन विदेशिए ?



अ+ अ-

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले पेशासँग देश नै छाडेर विदेशिएका छन् । डा. कोइराला लामो समयदेखि काठमाडौंको सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत थिए । उनले सरकारी नियुक्तिको पहल गरे पनि सफल नभएपछि देश नै छाडेर विदेशिएका हुन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन कोइरालाले पदबाट राजीनामा दिएर विदेशिएका हुन् ।

उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।

उनी अमेरिका पुगेको खबर सार्वजनिक भएपछि धेरैले चिन्ता र चासो राखेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्–

अत्यन्तै दुखी छु!

डा रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन। ‘मार्ग परिवर्तन’ गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै ‘बौद्धिक’ मध्येका एक थिए।

स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए।

तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुखी छु। हण्डर-ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए, र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन। म तपाईँलाई नमन गर्छु।

देशको वर्तमानको पीडा र भविष्यमा आउने अझ गम्भिर अवस्था कसले बुझिदिने!

गत चार वर्षमा (२०२१–२०२५) ८,६२४ नयाँ डाक्टरहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भए।

तीमध्ये ६,३६८ जनाले विदेश जाने हेतुले Good Standing Certificate प्राप्त गरे।

रामेशजी,

एकबारको जिन्दगी हो। तपाईँले असाधारण स्तरको सार्वजनिक सेवा गरिसक्नुभएको छ। जे पाउनु भएन, त्यसका लागि पश्चताप गर्नु पर्दैन (वास्तवमा यो स्थिति आउनमा तपाईँहरूजस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ)।

जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ — खुशी र सुखी रहनोस्। धेरैधेरै शुभकामना व्यक्त गर्दछु। अत्यन्तै दुखी। यस्तै हुने हो भने देश के होला!

नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला!

डा. कोइराला देशमा बढ्दै गएको अतिराजनीतिकरणका कारण विरक्तिएर देश छाडेको हुनसक्ने बताइएको छ । उनले सरकारबाट समेत न्याय पाएका थिएनन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका कोइरालालाई सरकारले दुवैमा नियुक्त गरेको थिएन ।

सरकारले मंगलबार मात्र चार वटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । कोइरालाले सामाजिक सञ्जालमा लेख्दै देश, पेसा र भूमिका सबै फरक भन्दै तस्बिरसमेत हालेका छन् । जसमा उनी परिवारका सदस्यसँग विदेश उड्न लागेको देखिन्छ ।

सामाजिक सञ्जाल एक्समा समसामयिक विकृति र विसंगतिका साथै चोटिला राजनीतिक स्टाटस लेख्ने कोइराला विभिन्न मिडियाका स्तम्भ लेखक पनि हुन् ।

डा. रामेशले सुरुमा गंगालाल हृदय केन्द्रको डाइरेक्टर बन्न चाहेका थिए ।

गत जेठ १४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा चारवटा स्वास्थ्य प्रतिष्ठानमा ५५ जनाले दाबी पेस गरेका थिए ।

कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए । कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । बीपी कोइराला प्रतिष्ठान १३ आवेदकमध्ये कांग्रेसका तर्फबाट डा. संगीतासिंह भण्डारी, डा. रोशन पोखरेल, डा. रामेश कोइराला र डा. प्रह्लाद कार्की मुख्य प्रतिस्पर्धीका थिए ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. रामेश कोइराला, डा. विधाननिधि पौडेल, डा. राजेश अधिकारी, डा. प्रेमराज ज्ञवाली, अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ र हाल निमित्त उपकुलपति रहेका डा. भरतबहादुर खत्री मुख्य उम्मेदवार थिए । तर सरकारले खत्रीलाई नियुक्त गरेको थियो ।