राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल—भारतबीचको खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि हुनु नहुने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको बताउनु भयो । आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरु रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताउनु भयो । कुनैपनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उहाँको भनाइ छ । दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनैपनि प्रकारका आतंक हुन नहुने बताउनु भयो । नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताउनु भयो ।
भन्नुभयो, ‘आतंकवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतंक पनि सिर्जना हुन्छ । व्यक्ति आतंक, राज्य आतंक, समूह आतंक विभिन्न हुन्छन् । राज्य आतंक पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतंकपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् । आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको चलाइ, छाती र निधारमा गोली हान्नेलाई राज्य आतंक भन्ने की नभन्ने । कारणमा पनि ध्यान जानुपर्छ । आतंकवाद भनेको कुरा ठिक होइन । कुनैपनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न सकिँदैन । त्यसको विरुद्धमा उत्रिनुपर्छ । दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र देखियो । यो धर्तीमा कुनै प्रकारका आतंकवाद, कुनै प्रकारको आतंकवादी गतिविधि बढावा हुने काम यो धर्तीमा हामी बसेका छौँ,यसबाट हुनु हुँदैन । नेपालको खुला सीमाको दुरुपयोग भएको छ । भनिराख्नु पर्दैन । राज्य पक्ष संवेदनशिल हुनुपर्छ । नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध होइन । खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि नेपालको धर्तीबाट हुनु हुँदैन ।’
पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो ।









