डा. प्रेमसिंह बस्न्यात
श्री ३ बीर सम्सेर राणालाई ब्रिटिश इन्डियाले पहिलो पटक नेपाली प्रधानमन्त्रीलाई भारतमा रहेका ब्रिटिश गोर्खाको मात्र मानार्थ प्रमुख सेनानी दिने चलन सुरु गर्यो। श्री ३ चन्द्र सम्सेरको पालामा मानार्थ मेजर जनरल ( उपरथी ) दिएको थियो भने भारतमा रहेको ब्रिटिश गभर्नर जनरललाई नेपाली सेनाको मानार्थ जनरल ( माहारथी ) दिएको थियो ।
जब सन १९४७ मा ब्रिटिश भारतबाट फर्कने भयो तब ब्रिटिशले स्वतन्त्र भारतलाई समेत सोही परम्परा कायम राख्न निर्देशन दियो । किनकी ब्रिटिश गोर्खा आधाभन्दा थोरै बेलायती सेना बने भने धेरै इन्डियन गोर्खा बनेर यतै बसे। सोही कारणले मात्र मानर्थ महारथी कायम राख्ने काम जारी राखियो।
त्यसपछि स्वतन्त्र भारतले श्री ३ लाई हैन श्री ५ महाराजधिराजलाई महारथी दिने प्रस्ताव गरेको थियो । राजा त्रिभुवनलाई मानार्थ महारथी दिने पत्राचार समेत भयो तर राजाले अस्वीकार गरेर मानार्थ महारथीको उपाधी लिन नमानेको र नेपाली सेनाका प्रधानसेनापतिलाई दिनु भनेपछि नेपाल का प्रधान सेनापतिलाई दिन थालिएको हो । यसै बेलादेखि नेपालले पनि भारतीय प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधी दिन थालेको हो ।
तर मानार्थ महारथी दर्जा प्रधानसेनापति पद भने होइन। प्रधानसेनापति नियुक्ती हो, दर्जा होइन। दुवै देशका प्रधानसेनापतिको दर्जा महारथी हो। २०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र भारतीय नेता चन्द्र शेखर लगायत व्यक्तिहरु नेपाल आएर आन्दोलन गरेकोले सो अवधिका प्रधानसेनापति सच्चित समसेर राणाले भारतको मानार्थ महारथी दर्जा अस्वीकार गरेका थिए ।
यसैको बदलामा तत्कालीन प्रधानसेनापति सच्चित सम्सेर राणा बङ्गलादेशको सैनिक प्रमुखको निमन्त्रण्मा नेपाली सेनाको एभ्रो जहाजमा बङ्गलादेश जान खोज्दा भारतले हवाई उडानका लागि हवाई रुट दिएको थिएन । त्यसपछि प्रधानसेनापति राणा र सैन्य टोली बङ्गलादेशको बिमानबाट ढाका गएका थिए ।
(लेखक नेपाली सेनाका पूर्व सहायकरथी हुनुहुन्छ)