२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक चापागाईँको उदाहरणीय कागती खेती



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँ अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै हुनुहुन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ । लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागतीखेतीले यतिबेला उत्पादन दिन थालेको छ । गत वर्ष सामान्य रूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन सुरु भएको उहाँले बताउनुभयो ।

यो वर्षमात्र ५० क्विन्टल कागती बजारमा पठाइसकिएको उहाँले बताउनुभयो । कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ । “विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरुअरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती सुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ” किसान चापागाईँले भन्नुभयो ।

उहाँ अनुसार सबैजसो बोटबाट उत्पादन सुरु भएकाले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ । चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागतीखेतीलाई अगाडि बढाएका छन् । कागतीखेती विस्तारका क्रममा रहेको भुसालले बताउनुभयो ।

दुवै जना मिलेर सिङ्चाङमा सुरु गरेको उदाहरणीय कागतीखेतीका कारण यहाँ अन्य किसानसमेत कागतीखेतीतर्फ आकर्षित भएका छन् । यहाँ गाउँका अन्य किासनले समेत करिब चार हजार बिरुवा लगाएका छन् । सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ । उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन् । नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताउनुभयो । कागतीखेतीमा हालसम्म रु एक करोड बढी लगानी भएको उहाँको भनाइ छ । कागतीखेती सुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन् । स्थायी रूपमा तीन जना कामदार रहेको र समयसमयमा अन्य कामदारसमेत खटाइने गरिएको छ । नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तलाखेतीको समेत थालनी गरेका छन् ।

नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागतीखेतीमा संलग्न छन् । नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ । नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ । कागतीसँगै नवलपुरमा सुन्तलाखेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ मार्फत नवलपुरमा कागतीखेती प्रवर्द्धन हुँदै आएको छ । कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग–कीराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ । अनुदानले कागती र सुन्तलाखेती गर्नेहरूको सङ्ख्या बढाउँदै गएको उहाँले बताउनुभयो ।

कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ । अहिले कागती प्रतिकेजी रु ८५ सम्ममा बिक्री हुँदै आएकाले मूल्यसमेत कम रहेको उहाँको भनाइ छ । उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताउनुभयो । यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहज रूपमा बजारीकरणका लागि पहल भइरहेको उहाँको भनाइ छ । रासस




भर्खरै