काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पु¥याउने क्रममा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले नयाँ सेवा सुरु गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभयो । उहाँले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको बताउनुभयो ।
मन्त्री मेहताले आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ अत्यन्त महत्वपूर्ण हुने भन्दै घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताउनुभयो । ट्राफिक जामलगायतका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था थप जटिल बन्न सक्ने उल्लेख गर्दै उहाँले एम्बुलेन्समै स्वास्थ्यकर्मीको उपस्थितिले घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराउन सहज हुने बताउनुभयो ।
ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा अघि बढाएका पहलमा मन्त्रालयले आवश्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री मेहताले जनाउनुभयो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको ‘प्रि–हस्पिटल केयर’ सुधार गर्ने महत्वपूर्ण पहल भएको बताउनुभयो । यस्तो सेवा विश्वका सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले ललितपुरको पहलबाट अस्पताल पुग्नुअघि नै बिरामीले आवश्यक स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
उहाँका अनुसार ललितपुर महानगरपालिकासँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट साउन महिनामा मात्रै १० हजार ४१ जना बिरामीले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती शहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तै सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित गरी आवश्यक बजेट व्यवस्थापन गरेपछि सेवा सञ्चालनमा ल्याइएको हो ।
नगरप्रमुख महर्जनले सेवा सञ्चालनका लागि कार्यविधि तयार पारिएको र सोही कार्यविधिअनुसार एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो । उहाँले सेवा सञ्चालनका क्रममा देखिने समस्या तथा कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता पनि जनाउनुभयो ।
महानगरपालिकाका अनुसार एम्बुलेन्स आपत्कालीन अवस्थाका बिरामीका लागि केन्द्रित हुनेछ । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराएपछि बिरामीको इच्छाअनुसार रोजेको अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ ।
एम्बुलेन्स सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ ।
महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवाले आकस्मिक अवस्थामा बिरामीलाई अस्पताल पुग्नुअघि नै आवश्यक उपचार उपलब्ध गराउन सहयोग पुग्ने र यसबाट आपत्कालीन स्वास्थ्य सेवाको प्रभावकारिता बढ्ने अपेक्षा गरेको छ ।











