२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा अझै पानी परेन



तस्बिर : हरिराम भेटुवाल / रासस
अ+ अ-

काठमाडौँ । आज बिहादेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्यम) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताउनुभयो । अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उहाँले बताउनुभयो ।

पछिल्लो ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । काठमाडौँमा १५ मिलिमिटर आसपासको मध्यम वर्षा भएको छ । गोरखामा पनि पछिल्लो ६ घण्टामा ४१।६ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भने सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर पानी परेको छ । उक्त अवधिमा काठमाडौँमा ८२.८ र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाइएको छ । अहिले बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।