१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडबारे दाहाललाई योगश भट्टराईको जवाफ– ‘तपाईंमाथि नै छानबिन गर्ने कि ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको जालसाजीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि छानबिन हुन सक्ने बताएका छन् ।

सचिव भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कुलिङ अफ पिरियडबारे दाहालले शनिबार दिएको अभिव्यक्तिको जवाफ दिँदै दाहालमाथि नै छानबिन गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एमाले कुलिङ अफ पिरियड राख्नुपर्छ भन्ने अडानमा रहेको बरू प्रधानमन्त्री भएको समयमा दाहाल नै कुलिङ अफ पिरियडको पक्षमा नरहेको दाबी गरेका छन् ।

सचिव भट्टराईले लेखेका छन्– ‘२०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुन्थ्यो र तपाईं कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन ।’

उनले विपक्षी बेन्चमा पुगेपछि दाहालमा एकाएक कुलिङ पिरियडको भूत जागेको विषयमा पनि प्रश्न गरेका छन् ।

‘आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस्,’ उनले लेखेका छन् ।

भट्टराईले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रचण्ड वरिष्ठतम सदस्यको हैसियतमा रहेकाले उनीमाथि पनि प्रश्न उठ्ने बताएका छन् ।

‘समितिले कुलिङ अफ पिरियड निर्णय गरेको थियो। तर समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफ्नै बोली आफैलाई गलापासो नहोस!,’ दाहाललाई सम्बोधन गर्दै भट्टराईले फेसबुकमार्फत भनेका छन् ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले कुलिङ अफ पिरियडमा भएको हेरफेरमा एमालेको भूमिका रहेको प्रष्ट भएको बताएका थिए ।

त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने उनको भनाइ थियो ।