काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेर ११औं महाधिवेशनमा अध्यक्ष बन्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पार्टीले होल्ड गरिदिएपछि एमालेमा हलचल मच्चिँदै आएको छ । पूर्वराष्ट्रपति भण्डारीको महत्वाकांक्षी कदममा एमालेले धक्का दिएपछि पार्टी दुई ध्रुवमा बाँडिएको छ । पदाधिकारी, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकमा पनि बादविवाद भयो । अन्तत: पार्टीले भण्डारीको सदस्यता होल्ड गरिदिने निर्णय गरेपछि भण्डारी पक्ष आक्रोसित भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टी विभाजनसम्म गर्ने अड्कलबाजी भइरहेका बेला शुक्रबार पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गर्दै आफू एमालेको सदस्य भएको र कसैले पनि सदस्यता खोस्न नसक्ने बताउनुभयो । उहाँले आफू राजनीतिमा पुनरागमन गरेर पदका लागि नभई जनताका लागि काम गर्ने उद्घोष गर्नुभयो । २०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित हुनु अघि भण्डारी एमालेको उपाध्यक्ष हुनुहुन्छ । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो ।
राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । त्यति मात्र होइन, उहाँले एमालेको ११ औं महाधिवेशनबाट अध्यक्ष बन्ने अभिव्यक्ति दिनुभएको थियो । तर यो कुरा तेस्रो कार्यकाल अध्यक्ष हुने लालसामा रहेका केपी शर्मा ओलीलाई चित्त बुझेको थिएन । त्यही कारण ओलीले नै भण्डारीको सदस्यता होल्ड गराउने निर्णय गर्नुभएको थियो ।
भण्डारीको चाहनाअनुसार एमाले नेतृत्व अघि बढ्न नसकेपछि विवाद चुलिएको थियो । एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता होल्ड गरिदिएपछि भण्डारी झन् आक्रोसित हुनुभएको थियो । लगत्तै आफ्नो कठोर निर्णय सुनाउने उद्घोषसमेत गर्नुभयो । त्यही सिलसिलामा उहाँले शुक्रबार पत्रकार सम्मेलन गर्नुभएको थियो ।
धेरैको अपेक्षा थियो– भण्डारीले एमाले नेतृत्वविरुद्ध कडा टिप्पणी मात्र गर्नुहुने छैन, आगामी कदमबारे स्पष्ट समेत पार्नुहुने छ । तर त्यसअनुसारको पत्रकार सम्मेलन भएन । भण्डारी निकै शान्त शैलीमा प्रस्तुत् हुनुभयो । उहाँले नेतृत्वको आलोचना गर्नुभएन । बरु राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार भएको जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा भण्डारी एमालेका पूर्वउपाध्यक्षको हैसियतमा उपस्थित हुनु भयो भने ब्यानरसमेत एमालेकै प्रयोग गरिएको थियो । यसअघि केही पार्टी कार्यक्रममा सहभागी भए पनि एमालेको ब्यानरमा भण्डारी पहिलोपटक उपस्थित हुनुभएको हो ।सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिनुभयो ।
पत्रकार सम्मेलनमा छोटो मन्तव्यमार्फत भण्डारीले एमाले नेतृत्वको निर्णयबाट आफू विचलित नभएको सन्देश दिनुभएको छ । ‘म सम्पूर्ण पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु’, भण्डारीले भन्नुभएको छ । यसको अर्थ उहाँले एमालेलाई नै माया गरिरहनुभएको छ । बरु उहाँले आफ्नो राजनीतिक यात्रा अघि बढाउन कुनै कठोर निर्णय गर्नुभएन । शान्तशैलीमा आफ्ना भनाइ राखेर उहाँले आफ्नो पत्रकार सम्मेलन टुंग्याउनुभयो ।
भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खारेज गर्न नसक्ने विश्वास व्यक्त गर्नुभयो । ‘२०३७ सालमा लिएको हो (सदस्यता), त्यतिखेर जननेता मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो, उहाँले शपथ खुवाउनुभयो मलाई । अब यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन’, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो सदस्यता निष्क्रिय बनाउनेहरुप्रति आक्रोश नै पोख्नुभएको छ । ‘केही मुठ्ठीभर मित्रहरुले, हुलहुज्जतको भरमा, उत्तेजनामा आएर यस्तो गर्न मिल्दैन । पार्टीको पनि आफ्नै प्रक्रिया हुन्छ’ भण्डारीले भन्नुभएको छ, ‘हाम्रो पार्टी एउटा प्रणालीमा चल्छ । कसलाई कतिखेर के मन लाग्यो, त्यो गर्नु राम्रो विषय होइन ।’
भण्डारीले आफ्नो पार्टी सदस्यता निष्क्रिय बनाउन कुनै संवैधानिक, कानूनी आधार नभएकाले त्यसका विरुद्ध आवाज उठाउन पार्टी पंक्तिमा आग्रह गर्नुभएको छ । एमाले नेतृत्वविरुद्ध कडा रुपमा नभई नरम नीति प्रयोग गरेकी भण्डारीले अब आफ्नो आगामी यात्राका बारेमा पनि खुलस्त बनाउनुभएन । बरु उहाँले एमालेमै कार्यकर्ता तहमा बसेर काम गर्न तयार रहेको संकेत गर्नुभयो ।
नेतृत्वमा पुग्ने कुनै लालसा नभएको दाबी गर्ने भण्डारीले एमाले पार्टीलाई राम्रो बनाउन आम कार्यकर्तालाई आह्वान गर्नुभयो ।
त्यसो त पत्रकार सम्मेलन भइरहँदा देखिएको दृश्य र सुनिएको अभिव्यक्ति हेर्दा भण्डारीले केही अर्थपूर्ण सन्देश पनि दिनुभएको छ । एमाले निर्माणमा आफ्नो योगदान बुझाउन पार्टी सदस्यता प्राप्त मिति र निर्वाह गरेको जिम्मेवारी उहाँले सम्झाउनुभएको छ ।
भण्डारीले कडा कदम चाल्न सक्ने अनुमानका बीच भएको पत्रकार सम्मेलन सहज भयो । न उहाँले एमाले नेतृत्वको चर्को आलोचना गर्नुभयो न त आफ्नो महत्वाकांक्षा नै प्रस्तुत गर्नुभयो । बरु एमालेलाई मिलेर बढाउन आह्वान गर्नुभयो । यसले पनि अब एमालेमा केपी ओली र विद्या भण्डारीबीचको द्वन्द्व साम्य पार्न सहयोग पुग्ने देखिएको छ । एमालेजनमा देखिएको कालोबादल अव विस्तारै फाट्न थालेको देखिन्छ । एमालेमा धमिलिएको पानी संग्लिन थालेको संकेत देखिएको छ । आम कार्यकर्तामा उत्साहसमेत सिर्जना गरेको छ ।










