लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित मस्र्याङ्दी नदी किनारामा एक बालिकाको शव फेला परेको छ । बिहीबार साँझ सो स्थानमा सुन्दरबजार–७ धारापानीका प्रेमबहादुर घर्तीकी ११ वर्षीय छोरी शान्ति मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहका अनुसार यही असार २ गते दिदी र अर्की साथीसँग सो नदीमा गएकी शान्ति नुहाउने क्रममा पानीको छालले बगाएर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र आफन्तले खोजीकार्य गर्दै आएका थिए ।
शिवालय मन्दिरबाट पाँच सय मिटरमाथि सो नदी किनारामा शान्तिको शव फेला परेको प्रहरीले जनाएको छ । आफन्तले सो शवको पहिचान गरेको र मुचुल्का उठाएर परीक्षणका लागि प्रदेश अस्पताल बेँसीसहरमा ल्याइएको सूचना अधिकारी शाहले बताउनुभयो ।










