२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको नयाँ पहल: पहिला श्रम, त्यसपछि मात्रै राहत



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले तोकेको काम गर्नेलाई मात्र राहत उपलब्ध गराउनेछ । यसले राहतको दुरुपयोग हुने क्रम रोकिने महानगरपालिकाले जनाएको छ । यसअघि राहत वितरण गर्दा हुने खाने व्यक्तिसमेत सहभागी भएपछि त्यसलाई रोक्न महानगरले पहिला श्रम र त्यसपछि मात्रै राहतको नीति अख्तियार गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले मजदुर र विपन्न वर्गलाई लक्षित गरी राहतका लागि अनिवार्य रुपमा श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ‘श्रम गरेपछि सोही आधारमा मात्रै राहत दिइनेछ, यो नीति लागु गर्दा वास्तविक श्रमिकले मात्रै सुविधा पाउँछन् र दुरुपयोग हुने क्रम पनि रोकिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने ।

महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । उनले महानगरपालिकाले सबै वडामा सो कार्यविधिअनुसार श्रमपछि मात्रै राहत वितरण गर्न सर्कुलर जारी गरेको जानकारी दिइन् । ‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ नाम दिइएको कार्यविधिमा महानगरभित्र काम गर्ने श्रमिकलाई लक्षित गरेर श्रममा आधारित राहत वितरण गरिने व्यवस्था गरिएको छ । महानगरले राहतस्वरुप श्रमबापत पैसा वा खाद्यान्नको व्यवस्था गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ । दैनिक रुपमा ज्यालादारी गर्ने असंगठित संस्थामा काम गर्ने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेपछि वडाध्यक्षले उचित ठानेमा श्रममा आधारित राहत दिइनेछ । पहिलो चरणमा वडा कार्यालयले खास रुपमा राहत चाहिने असंगठित संस्थामा काम गर्ने व्यक्तिको लगत बनाउने र त्यसैअनुसार काम लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा एक परिवारका एक सदस्यलाई सातामा दुई दिन परिचालित गर्नुपर्ने प्रावधान राखिएको छ । महानगरले उपलब्ध गराउने रकम महानगरको विपद् व्यवस्थापन कोष वा सम्बद्ध बजेट शीर्षक एवं कार्यक्रममा विनियोजित बजेटबाट गरिनेछ । महानगरले सामाजिक दुरी कायम गरेर लगाइने काम बिहान र बेलुका गरी ८ घण्टाको हुनेछ । एकै व्यक्तिले दुई वडामा काम गर्न र पारिश्रमिक लिन पाउनेछैन । कामको अनुगमन, सुपरिवेक्षण गर्ने जिम्मेवारी काम लगाउने सम्बन्धित वडा कार्यालय वा काम लगाउने महानगरपालिकाअन्तर्गतको प्रशासनिक इकाइको हुनेछ ।

यी क्षेत्रमा कामपछि दाम
महानगरको कार्यविधिमा मजदुरले गर्ने कार्यसमेत तोकिएको छ । सोहीबमोजिम वडाहरूले सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत तथा सम्भार, ढल निकास एवं फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यकरण, सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, महानगरपालिका वा वडाले तोकेको अन्य समेत गरी सात प्रकारको काम दिनुपर्ने कार्यविधिमा उल्लेख छ । मजदुरहरूले यी कामका आधारमा राहतस्वरुप नगद तथा खाद्यान्न पाउनेछन् । राजधानी दैनिक