८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘लकडाउन मोडालिटी परिवर्तन गरौं, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित पारौं’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउन मोडालिटी परिवर्तन गर्न, परीक्षण संख्या बढाउन, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित पार्न र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि कोभिड–१९ परीक्षणका लागि खुला गर्न सुझाव दिएका छन् । लकडाउन लम्ब्याउँदै लगे पनि सरकारले अपेक्षाकृतरूपमा परीक्षणको दायरा बढाउन एकातिर संक्रमणको जोखिम बढ्दै गएको, अर्कातिर जनताको आर्थिक–सामाजिक जीवन प्रभावित भएको भन्दै सहभागीले चिन्ता व्यक्त गरे । ओलीले बुधबार बालुवाटारमा बोलाएर कोरोना नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा विभिन्न क्षेत्रमा व्यक्तिहरूसँग करिब ४ घन्टा परामर्श गरेका थिए । बैंठकमा अधिकाशले अहिलेको लकडाउनको स्वरूपलाई परिवर्तन गर्नुका साथै परीक्षणको दायरालाई अझ बढाउँदै लानुपर्ने सुझाव दिएको सहभागी एक विज्ञले कान्तिपुरलाई बताए । विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउन नलम्ब्याई अघि बढ्न सक्ने योजनाको तयारी गर्नुपर्ने बताएका हुन् ।

बैंठकमा डा. भगवान् कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरु पीताम्बर शर्मा, स्वर्णिम वाग्ले, शंकर शर्मालगायत अर्थशास्त्री, योजनाविद्, लैंगिकविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद् र नर्सहरुसहित करिब दुई दर्जनको उपस्थिति थियो । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि सहभागी भएको बैठकमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले सरकारले परीक्षणमा ढिलाइ गरेको गुनासो गरे । उनीहरूले अब निजी क्षेत्रलाई पनि परीक्षण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताए । भारत र तेस्रो मुलुकहरुबाट आउनेहरुलाई व्यवस्थित रूपमा भित्र्याउन सरकार लागिपर्नुपर्ने सुझाव पनि उनीहरूको थियो ।

बैंठकमा सहभागी जनस्वास्थ्यविद् समीरमणि दीक्षितका अनुसार उनीसहित अन्य सहभागीले क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न सल्लाह दिएका थिए । स्वास्थ्यकर्मीहरूको सुरक्षाको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव थियो । सरकारले सीमानाकाहरुमा व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि सुझाव थियो । ‘सीमानाकामा फितलो व्यवस्थापनले गर्दा समस्या देखिएका छन्,’ बैंठकमा उपस्थित अर्का एक विज्ञले छलफलको कुरालाई उद्धृत गर्दै भने, ‘सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण र होल्डिङमा राम्रो व्यवस्थापन मिलाउनुपर्छ ।’ अर्थविज्ञहरुले लकडाउनलाई केही खुकुलो बनाउँदै व्यापारिक क्षेत्रका अगुवाहरू बोलाएर सल्लाहमा स्वास्थ्य सतर्कताका साथ आर्थिक गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिए ।

विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले महाव्याधि रोकथाम र नियन्त्रणको व्यवस्थापनमा सरकारी पक्षबाट केही कमजोर भएको स्विकार्दै त्यसलाई सुधार गर्ने बताएका थिए । उनले नेपाल–भारत सीमा क्षेत्रमा अपेक्षाभन्दा बढी आगमन भएका कारण व्यवस्थापनमा कमजोरी भएको उनले स्विकारेका हुन् । सरकारले भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए । प्रधानमन्त्री ओलीले सरकारले अबका दिनमा गर्ने निर्णयहरुमा विज्ञहरुले दिएको सुझावलाई ध्यानमा राख्ने प्रतिबद्धता व्यक्त गरे । कान्तिपुर दैनिक




भर्खरै